काठमाडौं, पुस । राजस्व छली नियन्त्रणका लागि आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले भन्सार चोरी पैठारी गरी करिब ५० करोड रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा रूपन्देहीका दुई जनाविरुद्ध मुद्दा दायर गरको छ ।
रूपन्देहीको सम्मरीमाइका श्रुति ट्रेडर्स सञ्चालक आशिष गुप्तासहित दुई जनालाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा ४९ करोड ६५ लाख ९५ हजार ४८० रुपैयाँ बिगो कायम गरी आइतबार रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।विभागका अनुसार उनीहरूविरुद्ध बिगोको दोब्बरसम्म जरिमाना र तीनवर्ष कैद संजायको मागदाबीसहित मुद्दा दायर गरिएको हो ।
अनुसन्धानको क्रममा यति धेरै राजस्व छलीमा संलग्न आशिष गुप्ता र श्रुति ट्रेडर्सका मुख्य कारोबारी सन्नी गुप्ताले न्यून बिजकीकरण गर्ने र बिक्री बिलको रकम आम्दानीमा नदेखाउने गरेको भेटिएकाले मुद्दा दायर गरेको विभागले जनाएको छ ।
विभागका अनुसार उनीहरूले राजस्व चुहावट गर्ने क्रममा आफ्नो कम्पनीले तिर्न‘नपर्ने खरिदको लागत देखाउने र मालवस्तु बिनाबिल र बिजक बिक्री गर्ने गरेको अनुसन्धानमा खुलेको थियो ।
यसैगरी, मौज्दात खातामा मालवस्तु देखिने तर गोदाममा मालवस्तु नदेखिएको समेत विभागले जनाएको छ । उनीहरूविरुद्ध दायर मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२ को दफा २३ को उपदफा(१)र(३)बमोजिम बिगोको दोब्बरसम्म जरिमाना र तीन वर्षसम्म कैद सजायको माग गरिएको विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी राजीव पोखरेलले विगत २२ महिनाको अवधिमा झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक प्रयोग गर्ने, कमजोर आर्थिक अवस्था भएका मजदुरको नाममा नक्कली फर्म खडा गरी झुटा विवरण पेस गर्ने, अन्तःशुल्क स्टिकर नलगाई मालवस्तु बिक्री–वितरण गर्ने, फल्स बटम बनाउने, विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारमा समलग्न, नक्कली बिजक प्रयोग गर्नेदेखि लिएर भ्याट बिलको नक्कली कारोबारमा संलग्नलगायतका तरिका अपनाएर राजस्व छल्न खोज्नेहरूविरुद्ध करिब साढे १३ अर्ब रुपैयाँ बढी राजस्व छली गरेको अभियोगमा बिगोसहित विभिन्न जिल्लामा मुद्दा दायर गरिएको बताए । उनले राजस्वमाराले योजनाबद्ध रूपमा गरेको यस्तो कार्यविरुद्ध अहिले विभाग कडा रूपमा प्रस्तुत भइरहेको जानकारी गराए ।
उनले यस अवधिमा गैरकानुनी रूपमा नेपाल भिœयाइएका चोरीका गाडी वैधानिक बनाउन खोज्ने र भन्सार नाकाबाट ठूलो परिमाणको तयारी मासुसमेत काठमाडौं ल्याएको भेटिएपछि राजस्व छलीका अनेक रूप नियन्त्रणका लागि विभागले आफ्नो सक्रियता थप कडा बनाएको बताए ।
उनले यस्ता विभिन्न गतिविधिबाट राजस्व छली एवं राजस्व चुहावट गरेको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक तथा व्यक्तिहरूविरुद्ध अहिलेसम्म यतिधेरै बिगो दाबीसहित विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको जानकारी गराए ।
राजस्व छलीका अनेक रूप अपनाउनेहरूले अहिले नियन्त्रित वस्तुहरूको आयात गर्दा, बढी भन्सार दर भएका मालवस्तु एवं धेरै मूल्यका सवारीसाधन भिœयाउँदा विभिन्न तरिका अपनाएर राजस्व छली गर्ने गरेको पाइएको जानकारी गराउँदै उनले पछिल्लो समय यस विभागको अनुसन्धान टोलीले राजस्व छलीविरुद्ध थप सक्रिया अपनाइरहेको बताए ।
२३ फागुन २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठित नयाँ सरकारले यस विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत ल्याएदेखि अहिलेसम्म राजस्व चुहावटको कसुरमा आठ जना राष्ट्र सेवक कर्मचारीसहित कुल ५ सय २१ जनाविरुद्ध करिब १३ अर्ब रुपैयाँ बढीको बिगो कायम गरी बिगोको दोब्बर जरिमाना र तीन वर्षसम्म कैद माग दाबी गरी विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरेको विभागले जनाएको छ । राजस्वमाराले अपनाइरहेका विभिन्न तरिकासँगै अहिले मुलुकमा बैंकका एटीएम ह्याक गर्नेदेखि नक्कली चेक बनाएर बैंकबाट करोडौं रुपैयाँ निकाल्ने काम र बैंकिङ चोरीका घटनाले समेत तीव्रता पाएको छ ।