२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्लाही  :  पालिकालाई योजना छनौटको चटारो 

शुक्रवार , आषाढ ४, २०७८


सर्लाही, असार । सर्लाहीका २० वटै स्थानीय तह आगामी आर्थिक वर्ष २०७८÷०७९ को योजना छनौटमा जुटेका छन् । बस्तीस्तरमा सुझाव सङ्कलन गरी योजना छनौट गर्नुपर्ने भएपनि यो वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सर्वसाधारण जम्मा गरेर योजना छनौट गर्नसक्ने अवस्था नरहेको पालिकाले बताएका छन् । लालबन्दी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले आफ्नो वडामा वडाभित्रका केही अगुवा र राजनीतिक दलका प्रतिनिधिलाई राखेर योजना छनौट गर्ने तयारी गरेको बताउनुभयो । 
वडावासीलाई नै जम्मा गर्ने अवस्था भने नरहेको श्रेष्ठको भनाई छ । लालबन्दी नगरपालिकाका प्रवक्ता श्रेष्ठले समग्र नगरभरीको हकमा भने कुन हिसावले योजना छनौट गर्ने भन्ने बारेमा अझै अन्यौलता नै रहेको बताउनुभयो । 
नगरपालिकाले जेठ ३० गते सूचना निकालेर नीति तथा कार्यक्रमका लागि अनलाइनमार्फत सुझाव दिनसक्ने उल्लेख गरेको थियो । लालबन्दीमा गत वर्ष कोरोना सङ्क्रमणकै कारण जनप्रतिनिधि स्वंयमले योजना छनौट गरेका थिए । 
जिल्लाको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले प्रत्येक वडालाई बजेटको सिलिङ पठाएर प्राथमिकताको आधारमा योजना छनौट गर्न भनिएको जानकारी दिनुभयो । 
कोरोना सङ्क्रमणले गर्दा स–साना बैठक र छलफल गर्न नसकिरहेको अवस्थामा वडास्तरमा भेला गरेर योजना छान्न असम्भव रहेको उहाँले बताउनुभयो ।  यस्तै, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले पार्टी प्रतिनिधि र सीमित अगुवालाई राखेर योजना छनौटको तयारी भइरहेको जानकारी दिनुभयो । 
कानुनी रुपमा असार १० सम्म नीति तथा कार्यक्रम र बजेट गाउँ तथा नगर परिषद्मा पेस गर्नुपर्ने प्रावधान अनुसार जिल्लाका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । सर्लाहीमा नौवटा गाउँपालिका र ११ वटा नगरपालिका गरी देशभरमै सबैभन्दा बढी २० वटा स्थानीय तह रहेका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार