सुदूरपश्चिम, असार । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसकोे सङ्क्रमणबाट निको हुने दर ७८ प्रतिशत पुगेको छ । गत जेठ ९ गतेसम्म निको हुने दर झण्डै ५५ प्रतिशत मात्र थियो ।
स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये आजसम्म ४३ हजार ८८मा सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या कूल जनसङ्ख्याको एक दशमलब ६८ प्रतिशत हो ।
हालसम्म कूल जनसङ्ख्याको नौ दशमलब ८८ प्रतिशत अर्थात दुई लाख ५२ हजार ३८५ को कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । सङ्क्रमित हुने मध्ये अहिलेसम्म एक दशमलब ३० प्रतिशत अर्थात ५६२ को मृत्यु भएको छ ।
सङ्क्रमण भएर पनि स्वास्थ्य अवस्था सामान्य भएका सङ्क्रमितहरु अझैँ पनि संस्थागत आइसोलेशन र होम आइसोलेशनमा नै बसेर उपचाररत रहेका छन् । कोरोना भाइरससँग मिल्दो लक्षण भएका तर नमूना परीक्षण नगराएका पनि होम आइसोलेशनमा उपचाररत रहनु भएको छ । कोरोनाको दोस्रो लहर फैलिएसँगै सङ्क्रमण र मृत्यु हुने दर ह्वात्तै बढेको थियो ।
यसै बीच पछिल्लो २४घण्टामा प्रदेशको बझाङ जिल्लाका एक जना सङ्क्रमितको मृत्यु भएको छ । यो अवधिमा एक हजार ९५को नमूना परीक्षण गरिँदा ६४जनामा सङ्क्रमण भएको पाइएको छ भने ९३जना उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ ।
यसै गरी यो अवधिमा विभिन्न अस्पतालका कोभिड वार्डमा थप १५,आइसियुमा नौ र भेन्टिलेटरमा तीन भर्ना भएका उपचारत् छन् प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालको रुपमा रहेको सेती प्रदेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा मृत्युदर शून्य छ ।
यो अवधिमा अस्पतालमा नौ भर्ना हुँदा दुई उपचारपछि घर फर्किएका छन् । कोभिड वार्डमा १८ उपचाररत रहनु भएकामा सघन उपचार कक्ष ९आइसियू० मा ११,भेन्टिलेटरमा एक,अक्सिजन सहयोगमा पाँच,मोड्रेटमा दुई उपचाररत छन् ।