विराटनगर, जेठ । प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रमबारे प्रदेशसभामा शुक्रबारबाट छलफल सुरुभएको छ । नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमको सकारात्मक पक्ष र कमजोरीका बारेमा प्रदेशसभा सांसदले आफ्ना धारणा व्यक्त गरेका छन् ।
प्रदेशसभामा विपक्षी दलले सरकारको नीति तथा कार्यक्रमको कमजोरीको बढ्ता चर्चा गरेका छन् भने सत्ता पक्षले सवल पक्षमाथि चर्चा गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले नीति तथा कार्यक्रममार्फत नयाँ नाराको संग्रह गरेको टिप्पणी गरे ।
उनले नाराको पुलिन्दा पेश गरेको भन्दै अघिल्लो वर्ष ल्याएका कार्यक्रम कार्यान्वयन नभएको अवस्थाको समीक्षा नगरी फेरी पनि उस्तै र थप नयाँ नारा थपेर नीति तथा कार्यक्रम ल्याएको भन्दै आलोचना गरे ।
सरकारले महिला जेष्ठ नागरिकको सम्मानका लागि घोषणा गरेको कार्यक्रम ‘राष्ट्पति आमा सम्मान’ कार्यक्रमप्रति व्यंग्य गर्दै ‘प्रधानमन्त्री बा सम्मान’ कार्यक्रम पनि थप गर्न आग्रह गरे । प्रमुख सचेतक कार्कीले व्यवस्थालाई गाली गर्ने खालको नीति कार्यक्रम सरकारले ल्याएको टिप्पणी गरे ।
नेकपा माओवादी केन्द्रका सांसद धीरेन्द्र शर्माले तीन वर्षदेखि प्रदेशका गौरवका योजना, रणनीतिक महत्वका योजना र अरुमासमेत बजेट व्यवस्था गर्ने हो भने ५० अर्ब भन्दा बढी रकम आवश्यक पर्ने भन्दै जनतालाई योजना र कार्यक्रमको भ्रममात्र दिने प्रयत्न भएको टिप्पणी गरे । नीति तथा कार्यक्रममा अनावश्यक विषय समावेश गरेर भद्दा बनाइएको उहाँको टिप्पणी थियो ।
नेकपा एमालेका सांसद विमल कार्कीले कोभिड महामारीले गाँजेको कारणले पनि नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको बताउँदै नीति तथा कार्यक्रमको सफलता वा असफलताबारे प्रदेशसभामा छलफल गर्नु उपयुक्त हुने सुझाव दिए ।
उनले पौराणिक काब्य कुमार महात्म्य झैं नीति तथा कार्यक्रम सुन्दर रहेको र यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताए । उनले सरकारले गरेको गैरबजेटरी खर्चको विषयमा छलफल गर्नुपर्ने बताए ।
नेकपा माओवादी केन्द्रकी सांसद उमिता विश्वकर्माले कार्यक्रम विगतमा जस्तै आश्वासन बाँड्ने पत्र मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले जनता ढाँट्ने काम मात्र गरेको बताए ।
नेपाली काँग्रेसका प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले सीमामा तारबार लगाउन प्रदेश सरकारलाई आग्रह गरे ।
कांग्रेस सांसद शेखरचन्द्र थापाले आकर्षक नारा राख्ने तर त्यसलाई पूरा गर्ने गरी कार्यक्रम र बजेटको व्यवस्था नहुने गरेको स्मरण गरे । उनले झिना मसिनादेखि ठूला विषय ल्याउने सम्भाव्यता अध्ययन गर्ने भन्ने तर नगर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । कांग्रेस सांसद शिवनारायण सिंह गन्गाईले सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमुखी भन्दा छलछामको दस्तावेज भएको टिप्पणी गरे ।
नीति तथा कार्यक्रममा छलफल हुँदा मुख्यमन्त्री बैठकमा अनुपस्थित भई यसलाई आर्थिम मामिला मन्त्रालयको विषय जस्तो बनाउन खोजेको भन्दै बैठकमा आलोचना पनि भएको छ । मुख्यमन्त्री अनुपस्थित भएको छलफल कार्यक्रमको औचित्यमाथि पनि सांसदले प्रश्न उठाएका छन् ।