काठमाडौं, पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो।
बैठकले पुस २३ का लागि तय भएको नेकपाको केन्द्रीय कमिटी बैठक र सभामुख चयनका बारेमा छलफल गर्ने मुख्य एजेण्डा रहेकाे नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सत्तारुढ नेकपाले सभामुखका विषयमा टुंगो लगाउन नसक्दा संसद बैठक सरेको सर्यै छ।
त्यस्तै नेकपाले केन्द्रीय कमिटी पनि सार्ने बुझिएको छ। सभामुख कृष्णबहादुर महरा यौन काण्डमा जेलमा परेपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखविहीन छ।
सभामुखमा उपसभामुख शिवमाया तुम्बाहङ्फेले दाबी गर्दै आएकी छन् भने नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कसलाई समामुख बनाउने भन्ने बारेमा निर्णय भएको छैन्।
दुबै अध्यक्षले आफ्ना पक्षका नेतालाई सभामुख बनाउनु पर्ने अडान राख्दै आएका छन्। ओली पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने प्रचण्ड अग्नीप्रसाद सापकोटालाई अध्यक्ष बनाउने पक्षमा देखिएका छन्।