२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’

नेपाली कांग्रेसले ४४ औँ ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउदै

आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम

मंगलवार , पौष १५, २०७६

काठमाडौं, पुस । नेपाली कांग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा कांग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभालगायतका कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किेनु भएको थियो ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नु भएको थियो ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।

राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गर्नुभएको थियो ।

शाही ‘कु’पछि कांग्रेस नेतालाई करीब तीन महिना सिंहदरबारमा बन्दी बनाइ सो वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किनु भएको थियो ।

राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै कांग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार