काठमाडौं, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरु पनि आन्तरिक छलफलमा जुटेका छन् ।
संसदीय समितिबाट हिजो पारित भएको सूचना प्रविधि विधेयकप्रति कतिपय नेताहरुले व्यक्तिगत रुपमा खरो आपत्ति जनाएपनि पार्टीगत रुपमा कसरी प्रस्तुत हुने भन्ने बारेमा काँग्रेस नेताहरुले छलफल गर्न लागेका हुन् ।
सूचना प्रविधि विधेयकले वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रतालगायतका नागरिकका आधारमूत तथा मौलिम अधिकार कुण्ठीत गर्ने खोजेको भन्दै काँग्रेस नेताहरु गगनकुमार थापा, विश्वप्रकाश शर्मा, डा चन्द्र भण्डारी सहितका नेताहरुले कडा आपत्ति जनाउनु भएको छ ।
काँग्रेसका नेताहरुले सूचना प्रविधि ऐन संविधान विपरित समेत भएकाले कडा रुपमा प्रस्तुत हुनु पर्नेमा जोड दिएका छन् ।
उनीहरुले सभामुखको निर्वाचन हुदाँ पार्टीको तर्फबाट उम्मेदवार बनाउने की नबनाउने र बनाएमा कस्लाई बनाउनेलगायतका बारेमा पनि छलफल गर्न लागेका छन् ।
केही नेताहरु संसदमा सरकार विरुद्ध कसरी प्रस्तुत हुने भनेर छलफल गर्न लागिरहेका बेला केही नेताहरु भने सभापति शेरबहादुर देउवाका विरुद्धमा कसरी प्रस्तुत हुने भन्ने छलफलमा लागेका छन् ।
सभापति देउवासहित संस्थापन पक्षले एकलौटी ढंगबाट गरेको निर्णयप्रति असन्तुष्ट नेताहरुले देउवा विरुद्ध मोर्चाबन्दीका लागि गृहकार्य गरेका हुन् । व्यक्तिगत आग्रह र पूर्वाग्रहका कारण विभिन्न समूहमा छरिएका नेताहरू पनि अहिले सभापति देउवाविरुद्ध एक ठाउँमा देखिएका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीहरू रामशरण महत, अर्जुननरसिंह केसीसँगै डा शेखर कोइराला, बलबहादुर केसी र डा मिनेन्द्र रिजाललगायतका नेताहरुले देउवा विरुद्ध एकजुट हुनेगरी छलफललाई तिव्र पारेका हुन् ।