२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

भारी हिमपातकाे असर : अवस्था गम्भीर

हुम्ला : हिमपातको असर जिल्लाका सातवटै गाउँमा

स्वास्थ्य चौकीमा बिरामी बढे

शनिवार , पौष १२, २०७६

हुम्ला, पुस । हुम्लामा हिउँदको महिना शुरु भएसँगै जिल्लाका सातवटै गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा बिरामीको सङ्ख्या बढेका छन् । गत मङ्सिर महिनाको अन्तिम सातामा परेको भारी हिमपातले बिरामीको सङ्ख्या झन बढ्दै गएको छ । 

सिमकोट गाउँपालिका–२ साविक ठेहे गाउँमा यतिबेला रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । करिब ५०० घरधुरी रहेको सो गाउँमा यतिबेला रुघाखोकीका बिरामीले गाउँ नै थला परेको छ । जिल्लाकै बढी जनसङ्ख्या र ठूलो बस्ती रहेको ठेहेमा यतिबेला एक घरमा दुईदेखि तीन जना बिरामी भएका छन् । 
 
रुघाखोकीले गाउँ नै थला परेपछि गाउँमै रहेको ठेहे स्वास्थ्यचौकीमा दैनिक ४५ देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अहेव नर भण्डारीले जानकारी दिए । स्वास्थ्यचौकीमा उपचार गराउन आउने बिरामीमा ज्वरो, टाउको दुख्ने, घाँटी पोल्ने, हातखुट्टा झमझमाउने जस्ता रोगका बिरामी आउने गरेको उनले बताए । 

उनले भने, “रुघाखोकी सरुवा रोग हो, ठेहेमा घरहरू एकापसमा जोडिएर बनेकाले एकजनालाई लागेको रोग गाउँमै फैलिएको छ ।” अहिले स्वास्थ्यचौकीमा बिरामीको चाप बढी भएकाले जिल्ला अस्पताल सिमकोटबाट ल्याइएको औषधि विरतण गरिएको भण्डारीले जानकारी दिए । “स्वास्थ्यचौकीमा अहिले औषधि थोरै छ, बिरामीको चाप बढ्दै जाँदा औषधि पनि अभाव हुने देखिएको छ”, उनले भने ।

ठेहे स्वास्थ्यचौकीमा अहिले एक जना अहेव र कार्यालय सहयोगी मात्रै रहेको भण्डारीले जानकारी दिए । दैनिक ४५ देखि ५० जना बिरामीलाई स्वास्थ्य परीक्षण गर्नुपरेको उनले बताए । 

यस्तै जिल्ला अस्पातल हुम्लामा पनि बिरामीको चाप बढ्दै गएको छ । रुघाखोकीका बिरामीले अस्पतालका शय्या भरिभराउ हुने गरेको जिल्ला अस्पतालका चिकित्सतक टसी लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमी रुघाखोकीले बिरामीको सङ्ख्या बढ्दै गएको छ । जिल्लाका तल्लो क्षेत्रमा रहेका स्वास्थ्यचौकीमा पनि बिरामीको चाप बढेको छ । 

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार