काठमाडौं, पुस । नेकपामा सभामुख चयनको विषय पेचिलो बनेपछि आज बस्ने भनिएको संसद बैठक स्थगित हुने सम्भावना बढेको छ । संसद बैठक आज दिउँसो एक बजेका लागि बोलाइएको छ । यो बैठकमा सभामुख चयनको प्रक्रिया सुरु हुने कार्यतालिका छ ।
तर सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेका कारण आजको बैठक सूचना टाँस गरेर स्थगित हुने सम्भावना बढेको एक नेताले बताए । उपसभामुख शिवमाया तुम्वाहाम्फेले आज सुरु हुने बैठकअघि नै राजीनामा दिने भनिए पनि हालसम्म उनको राजीनामा आएको छैन ।
यदि आज पनि उपसभामुख तुम्वाहाम्फेले बैठक सञ्चालन गरे सभामुखमा कांग्रेसले दाबी गर्न सक्ने सम्भावना छ । त्यसैले आजको बैठक उपसभामुखले सञ्चालन गर्ने सम्भावना नरहेको ती नेताले बताए ।
सभामुखका लागि नेकपाभीत्र पूर्व एमाले र पूर्व माओवादी खेमाले दाबी प्रस्तुत गरेका छन् । तर उपसभामुख तुम्वाहाम्फेले आफूलाई सभामुख बनाउने भए मात्रै राजीनामा दिने अडान लिएपछि सहमति जुट्न सकेको छैन ।