काठमाडौं, पुस । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्न लागेको छ । चालु हिँउदे अधिवेशन सुरु भएपछिको यो दोस्रो बैठक हो । दिउँसो १ बजेपछि बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विभिन्न विधेयकहरु टेबुल गरिने भएको छ ।
“औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६”, “राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन), २०७५” र सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६” लाई सभा समक्ष पेश गरिने भएको हो ।
आजै संघीय संसद अन्तर्गतका विभिन्न समितिहरुको बैठक पनि बस्न लागेका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ११ बजेपछि छुट्टा छुट्टै बस्ने भएका छन् ।
त्यसैगरी प्रतिनिधि सभा अन्तर्गतकै महिला तथा सामाजिक समिति र सार्वजनिक लेखा समितिको बैठक पनि ११ बजे नै फरक फरक ठाउँमा बस्न लागेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको बिकास तथा प्रविधि समितिको बैठक भने दिउँसो २ बजेपछि बस्ने संसद सचिवालयले जनाएको छ ।