नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकले अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ ।
अध्यक्षद्वयका तर्फबाट पुष्पकमल दाहालले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । स्थायी समितिमा मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसिसी) बारे विवाद बढेपछि हिजो सकिने भनिएको स्थायी समिति आजमात्र सकिएको छ ।
बैठकमा निकै चर्काचर्की भएको एमसिसीबारे उठेका विषयहरुबारे थप छलफल गर्ने जिम्मा सचिवालयलाई दिइएको स्थायी समिति सदस्य भीम रावलले बताउनुभयो ।
बैठकमा रावल लगायतका नेताले एमसिसी सम्झौता नेपालको हितमा नभएको र यो इन्डो प्यासिफिक रणनीति अन्तर्गत हो कि होइन भन्नेमा सरकारले प्रष्ट पार्नुपर्ने भन्दै प्रश्न उठाएका थिए। ’बैठकमा उठेका प्रश्न र आशंकामाथि सचिवालयले छलफल गर्नेछ।
रावलले एक हप्तासम्म स्थायी समितिमा आएका टिप्पणी, सुझाव र आलोचनासहित परिमार्जन गरी राजनीतिक प्रतिवेदन पारित भएको बताउनुभयो । बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको सांगठनिक प्रस्तावको प्रस्तावना र अन्य केही बुँदामा परिमार्जनसहित केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय पनि भएको छ ।
यसैबिच, महासचिवको विधान संशोधन प्रस्तावसँगै वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पनि बैठकले पारित गरेको छ । नेकपाको केन्द्रीय समिति बैठक पुस २३ गते काठमाडौंमा हुने पनि उहाँले बताउनुभयो ।
बैठकले चार वटा प्रस्ताव पनि पारित गरेको छ । यसको पहिलो बुँदामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनी छिटो काममा फर्किउन् भन्ने कामना बैठकले गरेको छ ।
पछिल्लो समय सडक दूर्घटनामा धेरैको ज्यान गएको भन्दै सडक सुरक्षामा संवेदनशील हुन तथा मृतकका परिवारलाई उचित राहत दिन पनि सरकारसँग माग गरेको छ।