काठमाडाैँ, पुस । संघीय संसद अन्तर्गतका तीन ओटा संसदीय समितिका बैठक आज बस्दैछन् ।
सवै समितिले छलफल भइरहेका विधेयकहरुलाई पारित गर्ने तयारी गरेका छन् । अस्तीदेखि संसदको हिउँदे अधिवेशन सुरु भएकाले यही अधिवेशनबाट पारित गराउनेगरी समितिहरुले विधेयकहरु संसदमा पठाउनेगरी पारित गर्न लागेका हुन् ।
संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतका शिक्षा तथा स्वास्थ्य समिति र महिला तथा सामाजिक समितिको बैठक बस्न लागेका हुन् । शिक्षा तथा स्वास्थ्य समितिको बैठक विहान ११ बजे र महिला तथा सामाजिक समितिको बैठक दिउसो १२ बजेपछि बस्ने तय भएको संसद सचिवालयले जनाएको छ ।
त्यसैगरी राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक दिउसो १ बजे बस्ने भएको छ । गत शुक्रबारदेखि शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत अर्को बैठक यही ११ गते बस्ने तय भएको छ ।
विधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिवेशनका लागि प्रतिनिधिसभामा २७ वटा विधेयक दर्ता भइसकेका छन् भने केही विधेयक समितिबाट पारित हुने तयारीमा छन् ।
प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमा अहिले १५ विधेयक छन् । प्रतिनिधिसभामा मुख्यतः दुईवटा विधेयक विवादास्पद छन् । राज्यव्यवस्था तथा सुशासन समितिमा रहेका नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ र संघीय निजामती सेवा विधेयक, २०७५ विवादास्पद छन् । नागरिकता विधेयक २०७५ साउन २२ गते संसद सचिवालयमा दर्ता भएको थियो ।