काठमाडौँ, पुस। संसदको हिँउदे अधिवेशन शुरु हुनुभन्दा एक दिन अगाडि नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे १ बजेपछि बस्नेगरी बैठक बोलाइएको हो ।
संसदमा के के विषयलाई कसरी उठाउने, उठाउनु पर्ने विषयबस्तुहरु के के छन् भन्ने लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेस सांसद डा डिला संग्रौलाले जानकारी दिनुभयो ।
बर्तमान सरकारले कतिपय विधेयकहरु संविधानको मर्म र भावना तथा लोकतान्त्रीक मान्यता विपरित ल्याएकाले ती विषयमा प्रतिवाद गर्ने बारेमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।
संसदमा काँग्रेसका सांसदहरुको प्रस्तुती प्रभावकारी हुन नसकेको भन्दै आलोचना भइरहेकाले कसरी प्रभावकारी बनाउने भन्ने बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ ।
कांग्रेसले आफ्ना सांसदहरूलाई संसदमा नियमित उपस्थित भएर आम नागरिकको चासोका विषयलाई सशक्त रुपमा उठाउन, विधेयकहरु र समसामयीक विषयमा पर्याप्त अध्ययन अनुसन्धान र विश्लेषण गर्न निर्देशन दिने तयारी गरेको छ ।
यसैबीच काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री कुन्दनराज काफ्ले पक्षधर विद्यार्थीहरुले विधान अनुसार महाधिबेशन सुनिश्चितता गर्न माग गर्दै आज पनि रिले अनसन गरेका छन् ।
हिजो मध्यान्न्ह १२ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा १२ घण्टे रिले अनसन सुरु भएको हो । हिजो मध्यान्ह १२ बजेदेखि गएराती १२ बजेसम्म रुपा शर्मा, पद्यमा भुषाल, बन्दा बोगाटी, रोश्मीता कार्की र ललिता श्रेष्ठ अनसन बसेका थिए भने गएराती १२ बजेदेखि आज मध्यान्ह १२ बजेसम्मका लागि कृष्ण पुडासैनी, शतिश शाह, चेतराज , प्रकाश विष्टलगायतका विद्यार्थी नेताहरु रिले अनसनमा बसेका हुन् ।
आज मध्यान्ह १२ बजेपछि अनसनमा बस्नेहरुको तयारी पनि भइसकेको पूर्व महामन्त्री काफ्लेले जानकारी दिनुभयो ।
ने बि संघको बिधान २०२७ को सातौँ संशोधन कार्यान्वयन भई ३२ वर्ष उमेर हद लागि २० जिल्ला अधिबेशन सम्पन्न भई सकेको, ४० जिल्लामा तल्लो तहको अधिबेशन भएको र १६ जिल्लामा अधिबेशनको प्रकृया शुरु भईसकेको अवस्थामा केन्द्रीय समिति पनि ३२ बर्षभन्दा कम उमेरका विद्यार्थीलाई राखेर बनाउनु पर्ने उनीहरुले माग गरेका छन् ।