काठमाडौँ, पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दैछ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा आज पनि स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा धारणा राख्दैछन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डुले चार दिनदेखि जारी स्थायी कमिटी बैठकमा यी दुई प्रतिवेदन र प्रस्ताव छलफलका लागि पेश गरेका छन् ।
स्थायी समितिको हिजोको बैठकमा पनि स्थायी कमिटी सदस्यहरुले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गरेका थिए।
अधिकांश सदस्यहरुले पार्टी एकतालाई थप सुदृढीकरण गर्नुपर्ने, पार्टीको कार्ययोजना ठोस र व्यवस्थित बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्। बैठकमा बोल्न बाँकी सदस्यहरुलाई आज आफ्नो धारणा राख्न दिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आज बाँकी सदस्यहरुले बोल्ने क्रम सक्ने नेकपाको तयारी छ । सदस्यहरुले उठाएका सवालहरुलाई अध्यक्ष प्रचण्डले भोली सम्बोधन गर्नेछन्।