२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

काँग्रेसका दुई पक्षको आज पनि छुट्टा छुट्टै बैठक, केन्द्रीय समिति बैठक अन्यौलमा

मंगलवार , पौष १, २०७६

काठमाडौं, पुस । काँग्रेस केन्द्रीय समितिको बैठक अन्यौलमा पारेर नेताहरु छुट्टा छुट्टै बैठकमा केन्द्रीत हुन थालेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्ष र संस्थापन इतरको असन्तुष्ट पक्ष छुट्टा छुट्टै बैठकमा केन्द्रीत भएका हुन् ।

सभापति देउवा पक्षको भेला अहिले केहीबेरमा देउवा निवास बुढानिलकण्ठमा हुन लागेको छ भने असन्तुष्ट पक्षको भेला बरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा हुन लागेको छ ।

केन्द्रीय समितिको बैठक दिउसो १ बजे बोलाइएपनि नेताहरु विहानैदेखि आ आफ्नो पक्षको बैठकमा लागेका छन् । महाधिवेशनको प्रक्रिया तत्काल सुरु गर्ने की नगर्ने र अहिले पार्टीको विभाग मात्रै गठन गर्ने की अन्य भातृ संस्थाहरुको विवाद पनि संगसगै टुंग्याउने भन्ने बारेमा काँग्रेसका नेताहरु दुई पक्षमा विभाजित भएका हुन् ।

सभापति देउवा पक्षका नेताहरु अहिले महाधिवेशनको प्रक्रिया थाल्ने बेला नभएको र तत्काल विभाग मात्रै गठन गर्ने पक्षमा रहेका छन् । तर देउवा पक्ष बाहेकका अन्य नेताहरुले भने दुई महिनापछि अहिलेको कार्यसमितिको म्याद सकिने भएकाले महाधिवेशनको प्रक्रिया तत्काल थाल्नु पर्ने र कार्यकालको अन्त्यमा विभाग गठन गर्नु औचित्यहिन हुने तर्क गर्दै आएका छन् ।

उनीहरुले कार्यसमितिको म्याद थप्ने हो भने ३, ४ महिना मात्रै थप्ने र विभाग गठन गर्ने नै हो भने विभागसँगै अन्य भातृ संगठनहरुमा हुने नियुक्ति पनि गर्नु पर्ने असन्तुष्ट पक्षको सर्त रहेको छ ।

सभापति देउवालाई बहुमतका आधारमा पेलेर जान देउवा पक्षीय नेताहरुले दवाव दिएका छन् भने बहुमतीय आधारमा अगाडी बढेमा केन्द्रीय समितिको बैठक बहिस्कार गर्ने, विभागहरुलाई अस्विकार गर्ने र भातृ संगठनहरुमा समानन्तर समिति गठन गर्ने असन्तुष्ट पक्षको चेतावनी छ । यिनै विषयमा एकमत हुन नसक्दा काँग्रेसको केन्द्रीय समितिको बैठक एक हप्तादेखि अन्यौलमा परेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार