२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रथम जननिर्वाचित सरकार अपदस्थ भएको दिनको सम्झनामा ‘कालो दिवस’ मनाईँदै

सोमवार , मंसिर ३०, २०७६

काठमाडौं, पुस ।  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा मंगलबार कालो दिवसका रुपमा मनाइँदैछ ।

विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था सुरुवात गरेका थिए ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका बेला पहिलो निर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चश्मा’ कथा सङ्ग्रह बाहेकका साहित्यको रचना गरेका थिए । ‘दोषी चश्मा’ कथा सङ्ग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो ।

‘दोषी चश्मा’ कथा सङ्ग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त भएका बिपीलाई सुन्दरीजल बन्दी गृह साहित्य रचना गर्न वरदान सावित भएको थियो । जहाँबाट यौन मनोविश्लेषणवादी धाराका कृति नेपाली साहित्यले पाउन सक्यो । बन्दी गृहमा रचना भएका कृतिमा ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास हुन् ।

यसैगरी जेलमा बस्दा विसं २०१७ देखि २०२५ सम्मका दैनिकीको सङ्ग्रह ‘जेलजर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएपछि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा थुनेपछि लेखिएको दैनिकीको सङ्ग्रह ‘फेरि सुन्दरीजल’, ‘आफ्नो कथा’ लगायत कृति पुस १ गतेको शाही कूपछि नै रचना भएका थिए ।

पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । पुस १ गते तरुण दललगायत संस्थाले प्रजातन्त्रमाथि प्रहार भएको दिनलाई कालो दिवसका रुपमा मनाउँदै आएका छन् । सोही दिनको सम्झनामा मंगलबार नेपाली काङ्ग्रेस र नेपाल तरुण दललगायतले देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार