काठमाडौँ, मङ्सिर । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक बस्दैछ । आज दिउसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा छलफल हुनेछ । साथै, पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे पनि छलफल हुनेछ ।
साथै बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बोल्छ भने त्यसलाई अनुशासनको कारबाही गर्ने विषयमा पनि निर्णय गर्नेछ ।
विगत केही दिनयता केही मिडियामा गलत नियतका साथ केही नेताको उद्दरण सहित समाचार आएकोमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल पनि भएको छ ।
दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कारबाही प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।