काठमाडौँ, मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औँ दक्षिण एसियाली खेलकूद (साग)मा नेपाली खेलाडीहरुको प्रदर्शन असाधारण रहेको बताएका छन् । नेपालले यसअघि हासिल गरेका उपलब्धिमा १३ औँ सागमा रेकर्ड तोडेकोमा प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई बधाई दिएका थिए ।
१३ औँ सागमा पदक विजेता खेलाडीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार निम्त्याएर प्रधानमन्त्री ओलीले खेलकूदमा राष्ट्रले प्राप्त गरेको खुसीयाली साटासाट गरेका हुन् ।
“५० वटा खेलमा सामेल हुने हैसियत नभएका ठाउँबाट आज देशलाई ५१ वटा स्वर्ण पदक दिलाउनु भएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो सानो उपलब्धि होइन । अब हामीले यसलाई थालनी मानेर खेलकूदमा नयाँ उपलब्धिहरु हासिल गर्दै जानु पर्नेछ ।”
उनले १४ औँ सागमा अहिलेका सबै जितको रेकर्ड तोड्नेगरी अघि बढ्न पनि खेलाडीहरुलाई आह्वान गरे । प्रधानमन्त्री ओलीले भूकम्पका कारण खेलकूदका पूर्वाधार सबै भत्केको अवस्थामा सफलतापूर्वक साग आयोजना हुनुलाई पनि उपलब्धिका रुपमा लिनु पर्ने उनको भनाई थियो ।
“भूकम्पले हाम्रा सबै पूर्वाधारहरु भत्केका थिए, हामीलाई ती संरचनाहरु बनाएर खेल आयोजना गर्नु कठीन काम थियो,” प्रधानमन्त्री ओलीले भने, “नभत्केको, बनाउनु नपर्ने कहीँ थिएन, सबै कुरा बनाउनु पर्ने थियो । यस्तो अवस्थामा काठमाडौं, पोखरा र जनकपुरमा समेत साग प्रतियोगिताहरु आयोजना गरेर हामीले गर्न सक्छौं भन्ने सन्देश दिएका छौं ।”
खेल क्षेत्रमा नेपालले इतिहासको रेकर्ड तोडेको र अब थप गतिका साथ अघि बढ्ने प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले सागमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई ९ लाख, रजत पदक विजेतालाई ६ लाख र कास्य पदक विजेतालाई ३ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे ।
यस्तै दुई भन्दा बढी स्वर्ण पदक विजेतालाई प्रतिस्वर्ण ११ लाखका दरले पुरस्कार दिने प्रधानमन्त्रीले घोषणा गरे ।
समूह इभेन्टमा स्वर्ण पदक विजेता खेलाडीलाई पाँच पाँच लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।