काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसको युवा भातृ संगठन नेपाल तरुण दलले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही २५ लाख रुपैयाँ प्रदान गर्नु पर्ने माग गरेको छ ।
यस्तै रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्ने खेलाडीलाई १० लाख रुपैयाँ प्रदान गरी सम्मान गर्न तरुण दलले सरकारसँग माग गरेको हो।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरेर सरकारसँग यस्तो माग गरेका हुन् । मंगलबार सकिएको सागमा नेपालले कीर्तिमानी ५१ स्वर्ण पदक जितेको छ । यस्तै ६० रजत र ९५ कास्य पदक नेपाली खेलाडीले जितेका छन् ।
तरुण दलले साग प्रतियोगितामा भ्रष्टाचार भएको आरोप समेत लगाएको छ । नेपालीको शान उच्च बनाएको भन्दै खेलाडीलाई धन्यबाद दिएको तरुण दलले सागमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भ्रष्टाचार गरेको आरोप लगाएको हो ।
विज्ञप्तिमा भनिएको छ ‘साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टाचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ ।’
खेलाडीलाई सुटिङ, साइक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसकेको तर मन्त्रीहरुका लागि राखेपले दौरासुरुवाल उपलब्ध गराएको आरोप तरुण दलको छ ।