राष्ट्रियसभाका रिक्त सदस्य पदका लागि माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ ।
निर्वाचनबारे छलफल गर्न आयोगद्वारा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आज नै सरकारसँग परामर्श पेश गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिनुभयो ।
निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदैछ ।
तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्छ भन्ने कानूनी व्यवस्था छ ।
यो निर्वाचनबाट महिला ७, दलित २, अल्पसङ्ख्यक २ र अन्यबाट सात जनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाँउपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका युवानेता सुरेन्द्रराज पाण्डेले नतिजाको पूर्वानुमान गर्न सकिने राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सहयोगको वचन दिनुभयो ।
आयोगका अनुसार आगामी निर्वाचनमा प्रदेश नं १ मा महिला १, दलित १ र अन्य १ गरी ३, प्रदेश नं २ मा महिला १, दलित १, अल्पसङ्ख्यक १ र अन्य १ गरी ४, प्रदेश नं ३ मा महिला १ र अन्य १ जना गरी २ पदका लागि निर्वाचन हुनेछ ।
गण्डकी प्रदेशमा महिला १ र अन्य १ गरी २ तथा प्रदेश नं ५ मा महिला १, अल्पसङ्ख्यक १ र अन्य १ गरी ३, कर्णाली प्रदेशमा महिला १, अन्य १ गरी दुई तथा सुदूरपश्चिम प्रदेशमा महिला १ र अन्य १ गरी १ पदका लागि निर्वाचनको तयारी गरिएको छ ।