काठमाडौं, असार । नेकपालाई विभाजनबाट जोगाउन भन्दै नेकपाका केही नेताहरुले केन्द्रीय कमिटीको बैठक बोलाउन माग गरेका छन् । उनीहरुले बैठकका लागि अनलाईन मार्फत् प्रारम्भीक छलफल गरिसकेका छन् भने प्रारम्भीक भेलाको तयारी समेत गरेका छन् ।
हिजो राती अबेरसम्म अनलाईन मार्फत् भएको बैठकमा ५३ जना सहभागी भएको पार्टीका केन्द्रीय सदस्य ठाकुर गैह्रेले जानकारी दिनुभयो ।
बैठकले केन्द्रीय कमिटीको बैठक बोलाउनका लागि आवश्यक पर्ने प्रक्रिया अगाडी बढाउन भोली दिउँसो २ बजे प्रारम्भीक भेला आयोजना गर्ने निर्णय गरेको छ । उहाँले भेलापछि बैठक बोलाउन हस्ताक्षर संकलन समेत गरिने बताउनुभयो ।
कुल केन्द्रीय सदस्य मध्ये २५ प्रतिशतले हस्ताक्षर गरेर बैठकको माग गरेमा बैठक बोलाउनु पर्ने व्यवस्था नेकपाको विधानमा छ । नेकपामा कुल केन्द्रीय सदस्य ४४५ जना रहेकोले ११२ जनाले हस्ताक्षर गरेर बैठक बोलाउन माग गरेमा बैठक बोलाउनु पर्ने देखिन्छ ।
एकतालाई जोगाउन सक्ने सवैभन्दा प्रभावकारी उपाय नै केन्द्रीय कमिटीको बैठक भएकाले तत्काल बैठक बोलाउन आफुहरुले माग गरेको गैह्रेले बताउनुभयो । कस्ले ठिक गरेको छ र कस्ले बेठिक गरेको छ भन्ने छुट्याउने र अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएकाले केन्द्रीय कमिटीबाट समाधन निकाल्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।