काठमाडौं, असार । मन्त्रिपरिषदको बैठकले संघीय संसदको चालु अधिवेशन आजैबाट अन्त्यको सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले चालू वर्षे संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आज साँझ पाँच बजेदेखि संसद् अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । मन्त्रिपरिषद् बैठकमा पूर्वमाओवादी पक्षका मन्त्रिहरु उपस्थित थिएनन् ।
बालुवाटारमै सत्तारुढ नेकपाको बैठक पनि जारी छ । अध्यक्ष ओलीकै उपस्थितिमा बैठक सवा १२ बजेबाट सुरु गरिएको हो ।