काठमाडौं, असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पनि हुँदैछ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा सरकारको कामकारबाही, एमसीसी, कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदमलगातका विषयमा छलफल हुने बताइएको छ ।
नेकपाले बैठकमा छलफलका लागि मुख्य ७ बुँदे एजेण्डा तय गरिएको भए पनि शीर्ष नेताहरूसहित स्थायी कमिटीका अधिकांश सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठक पेचिलो बन्दै गएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ नक्सा जारीगरे सँगै भारतसँग मिलेर आफ्नै पार्टीका नेताहरूले सरकार ढाल्न खोजेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र ओलीमाथि असन्तुष्टि चुलिएको हो ।
ओली इतरका नेताहरूले भारतसँग मिलेर सत्ताबाट हटाउन खोजेको प्रमाण भए कारबाही गर्न, अन्यथा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिएर बाटो खुला गर्न माग गरेका छन् ।
मंगलबारको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौमत लगायतका शीर्ष नेताहरूले प्रधानमन्त्रीको राजनीमा मागेका थिए ।
शीर्ष नेताहरूले राजीनामाको मागेपछि प्रधानमन्त्री ओलीले बुधबार बिहान केही मन्त्री र आफू निकटका नेताहरूलाई बोलाएर बालुवाटार परामर्श गरेका थिए । परामर्शमा सहभागी अधिकंशले जस्तोसुकै परिस्थिति आए पनि नेतृत्व नछाड्न तर छलफलबाट सहमति गरेर अघि बढ्न ओलीलाई सुझाब दिएका थिए ।
दाहाल–नेपाल छुट्टै भेला
बुधबार एक घण्टामा स्थायी कमिटी बैठक स्थगित भएपछि साँझ कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको ललितपुरको झम्सिखेलस्थित एक होटेलमा छुट्टै भेला भएको थियो ।
भेलाले प्रधानमन्त्रीविरुद्ध एकजुट भएर अघि बढ्ने निष्कर्ष समेत निकालेको छ ।