काठमाडाै, असार । नागरिकता विधेयकबारे आज पनि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदैछ । समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ ।
समितिले पटक पटक टुंग्याउने गरी बैठक बोलाए पनि दलहरुबीच सहमति कायम हुन नसक्दा विधेयक अघि बढेको छैन । यसअघि २ असारमा टुंग्याउने गरी समितिले बैठक बोलाए पनि कांग्रसले पार्टीमा छलफलका लागि समय मागेको थियो । ३ असारको बैठकमा गृहमन्त्रीले सहमतिका समय मागेपछि समिति टुङ्गोमा पुग्न सकेन ।
समिति सदस्य झपट रावलका अनुसार गत वर्ष २८ भदौमा सहमति गर्न २० मिनेटको लागि बैठक स्थगित गरिएको थियो । तर, अहिलेसम्म सहमति जुट्न सकेको छैन । उनी भन्छन्, “बैठक कतिञ्जेल यसरी लम्ब्याउने ?”
‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ झण्डै दुई वर्षदेखि अलमलिएर बसेको छ । विधेयक सरकारको तर्फबाट गृहमन्त्री थापाले २२ साउन २०७५ मा संसदमा दर्ता गरेका थिए ।
विधेयकमाथि सांसदहरुले १०० भन्दा बढी संशोधन हालेका छन् । दलहरुबीच बिहे गरेर आउने विदेशीलाई तत्काल नागरिकता दिने वा केही वर्षपछि भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।