२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

राष्ट्रियसभा बैठक

राष्ट्रिय सभाका सांसद भन्छन : "नेपाल - भारत सीमामा काँडेतार वा पर्खाल लगाइयोस्"

वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग

बुधवार , बैशाख ३१, २०७७

काठमाडौं, वैशाख । राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् । सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । 

सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताइन् ।  अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमा क्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन् । 

सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताइन् । उनले भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिन् । 

सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घोर आपत्ति जनाइन् ।  सीमा क्षेत्रमा काँडेतार लगाउन आउँदो आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै उनले भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन् । 

सांसद कोमल वलीले कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेकाले सीमा क्षेत्रमा रहेका नागरिकहरुको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिन् । लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दर पनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रवन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनु पर्ने माग राखिन् । 

सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भए पनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाली नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार