काठमाडाै, बेशाख । भारतले एकतर्फी रूपमा नेपालको भूगोलमा रहेको लिपुलेक कालापानीबाट चीनको स्वशासित क्षेत्र तिब्बतको मानसरोवर जोड्ने सडक ट्रयाकको उद्घाटन गरेको समाचारले दुई मित्रराष्ट्र बीच थाती रहेको लिपुलेक कालापानी विवादलाई नयाँ चरणमा प्रवेश गराएको छ ।
भारतका संघीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार ट्वीट गर्दै अब भारतीय तीर्थयात्रीलाई मानसरोवरको यात्रा गर्न सहज हुने भन्दै प्रसन्नता व्यक्त गरेका छन ।
नेपाल सरकार यसबारे जानकार रहे/नरहेको र आगामी कदम के हुने भन्नेबारे प्रश्नमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले विभिन्न सञ्चार माध्यमबाट सो क्षेत्रमा पछिल्लो भारतीय गतिविधिबारे जानकारी पाएको र यसबारे स्पष्ट विवरण दिन भारतीय दूतावासमार्फत भारत सरकार समक्ष आग्रह गरिएको बताए।
मन्त्री ज्ञवालीले भने, ‘लिपुलेक कालापानीबारे सरकार सजग छ, भारत सरकारबाट स्पष्ट विवरण आएपछि नेपाल सरकारले के कस्तो प्रतिक्रिया दिने भन्ने आधिकारिक धारणा सार्वजनिक गर्नेछ ।’
यसअघि भारत सरकारले नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक कालापानी क्षेत्रमा विभिन्न सैनिक असैनिक गतिविधि गरिआएको छ । भारतले सो क्षेत्रलाई आफ्नो क्षेत्रमा गाभी नक्शा सार्वजनिक गरेपछि नेपाल सरकारले केहीअघि आपत्ति जनाएको थियो ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाइ यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन ।
उनले शुक्रबार ट्वीट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।