काठमाडौं, वैशाख। विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् । महानगरले अलपत्र परेकाहरुलाई सातवटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३ बजेतिर गाडी चढेका उनीहरु विहान ५ बजेतिर थानकोट आइपुगेका थिए
‘काम परेर जाँदा लकडाउनका कारण उतै थुनिएका थियौं । स्थानीय तहले पास बनाएर पठाएपछि आएका थियौं,’ थानकोटमा रोकिएका बनेपाका रमेश प्रसाईँले भने, ‘विहान ५ बजेदेखि यहाँ अलपत्र छौं ।’ उनीहरु चढेर आएका केही गाडी फर्किसकेका छन् । तर प्रहरीले यात्रुहरुलाई रोकेर राखेको छ ।
सोमबार विहानै केहीलाई नाम टिपेर छाडे पनि केहीलाई रोकिराखेको र हिँजोबाट केही खानसमेत नपाएको उनीहरुले बताएका छन् । विराटनगर, विर्तामोड र जाेमसाेमलगायत स्थानबाट आएका करिब २ सय यात्रुहरु अलपत्र परेका छन् ।
यात्रुहरुलाई रोक्न प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवाली, ट्राफिक प्रहरी प्रमुख भीम ढकाललगायत नागढुंगा, थानकोट लगायतका स्थानमा अवलोकन नाकामा पुगेका छन् ।
यसैबीच, उनीहरुले यात्रुहरुलाई फर्काउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । एसएसपी ज्ञवालीले पास बिनाका कुनै पनि गाडि प्रवेश नदिने बताए । यहाँ आएका सबै गाडी फर्काउन भनिएकाे उनले बताए ।
बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो । उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’
विराटनगर महानगरले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकलाई लिन आइतबार सात वटा बस पठाएको थियो । त्यसमा अलपत्र गरेर काठमाडौं जान चाहने १६० जनालाई पनि पठाइएको थियो । तर प्रहरीले थानकोटमै रोकेको छ ।
विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् ।