काठमाडौं वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले अध्यादेश फिर्ता लिँदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति दिन नमिल्ने बताएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अध्यादेश फिर्ता भएपनि अपहरण शैलीमा समाजबादि दलका एक सभासदलाइ काठमाडाै ल्याइएकाे घटना प्रकरणसँग गाँसिएको दोषीलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलीमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन ।’
यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान हुनुपर्ने र यसमा जो कोहीको संलग्नता रहेपनि इमान्दारीपूर्वक कानुनी कारबाही गर्ने कांग्रेसले विज्ञप्तिमार्फत अपील गरेको छ ।
चौतर्फी विरोधपछि दुवै अध्यादेश फिर्ता लिन सरकार बाध्य बनेको र यो घटनाले सरकारको नियोजित नियत प्रष्ट भएको विज्ञप्तीमा उल्लेख छ ।
यही वैशाख ८ गते ल्याइएका राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी दुवै अध्यादेश शुक्रबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरेको थियो ।
