काठमाडौँ, माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय गर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् सभापति थापाले उम्मेदवार चयनका विषयमा सबैसँग छलफल भइरहेको र भोलिसम्म टुंगोमा पुग्ने बताए। ' हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ।
समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,' थापाले भनेका छन्, 'भोलि सबैजना आ- आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो। '
पार्टीभित्र देखिएका छलफल र निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्। '
यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो, सभापति थापाले भनेका छन्, 'नेपाली काँग्रेसलाई बलियो बनाउन सबैको एकता र समर्पण आवश्यक छ।'
उनले पार्टीका निर्णयलाई सम्मान गर्दै संगठन र लोकतान्त्रिक मूल्यको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्। उम्मेदवार छनोटका क्रममा देखिएका असन्तुष्टि स्वाभाविक भए पनि त्यसलाई चुनावी अभियानमा असर पर्न नदिन उनले अपिल गरेका छन् ।