काठमाडौँ, माघ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै पनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गरेका छन ।
पार्टीका कार्यवाहक सभापति खड्काले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो दाबी गरेका हुन । उनले पार्टी विधान अनुसार पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारे ।
उनले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग गरेमा केन्द्रले विशेष महाधिवेशन गर्नसक्ने व्यवस्था भए पनि केन्द्र भन्नाले केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यालयलाई जनाउने उल्लेख गरे ।
उनले गत मङ्सिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरेको भए पनि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सक्रियताको काम नसकेकै कारण हुन नसकेको जिकिर गरे ।
उनले कार्यसमितिले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नका लागि प्रक्रिया अगाडि बढाइएको भए पनि तत्कालीन महामन्त्रीद्वयले जिम्मेवारी पूरा गर्न नसकेको बताए ।
उनले भने, नेपाली कांग्रेसको विधानले कुनै पनि प्रकृतिको अधिवेशन, महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै दिएको छ।
पार्टीको केन्द्रीय समितिबाहेक कुनै पनि पदाधिकारीलाई नेपाली कांग्रेसको कुनै पनि अधिवेशन वा महाधिवेशन गर्ने अधिकार नेपाली कांग्रेसले दिएको छैन। उनले गत मङ्सिरमा तय गरिएको नियमित महाधिवेशन हुन नसकेपछि अगामी वैशाखमा गर्ने निर्णय गरिएको बताए ।
उनले गत पुस १५ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयबाटै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको जिकिर गरे।