काठमाडौँ, वैशाख । निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना कोषमा पठाउने निर्णयप्रति नेकपाका सांसदहरुले विरोध जनाएका छन् ।पूर्वाधार विकास कार्यक्रमको रकम कोषमा जम्मा गर्न कार्यव्यवस्था परामर्श समितिले दिएको सहमतिप्रति नेकपाका सांसदले विरोध जनाएका हुन् ।
पूर्वाधार कार्यक्रम सांसदले आ–आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने कोष हो । संसद्को दैनिक कामकारबाहीबारे परामर्श गर्ने समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर रकम पठाउन सहमति दिन नसक्ने सांसदहरुले बताएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा गत मंगलबार बसेको समितिको बैठकले यो वर्षको खर्च नभएको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पठाउन सहमति दिएको थियो ।
नेकपाका प्रत्यक्ष निर्वाचित २४ जना सांसदले निर्णयप्रति असहमति जनाएका हुन् । उनीहरूले पूर्वाधार रकम कोरोना कोषमा पठाउनुपर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस सांसद गगन थापाका अभिव्यक्तिप्रति पनि छलफलमा असन्तुष्टि जनाएका थिए ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेरै असन्तुष्टि जनाएका छन् । उनीहरूले कोरोना महामारी फैलिएर भोकमरी वा आर्थिक संकट देखिए मात्र पूर्वाधार कार्यक्रमको बजेट कोषमा लैजान ध्यानाकर्षण गराएका थिए ।