काठमाडौं, चैत । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गरी उनीहरुले संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउन र पूर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गरेर जनताको हितमा लगाउन माग गरेका हुन् ।
संघीय सरकारले प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत ६ करोड रुपैयाँ दिने गरको छ भने प्रदेशहरुमा पनि सांसदहरुले खर्च गर्न पाउने गरी निर्वाचन क्षेत्रमा रकम दिने गरिएको छ । कांग्रेस नेताहरुले सुरक्षाकर्मीको तब कटाउँदा उनीहरु निरुत्साहित हुने भन्दै त्यस्तो नगर्न पनि सरकारलाई सचेत गराएका छन् ।
नेताहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले विज्ञप्ति जारी गरी कोरोना परीक्षणको गति बढाउन आग्रह गरेका छन् ।
‘यस्तो गतिमा गरिने परीक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन सक्दैन। तसर्थ सरकारले परीक्षणको दायरा र गति बढाउनु पर्दछ। यसका लागि परिक्षण केन्द्रहरू अविलम्ब थपिनु पर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
उनीहरुले कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचानका लागि आबश्यक पर्ने परीक्षणका लागि चाहिने परीक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न पनि माग गरेका छन् ।
नेताहरुले बिदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउन दिने ब्यवस्था मिलाइन पनि माग गरेका छन् । ‘सीमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राखिनुपर्छ। आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाइनु पर्दछ’ उनीहरुले भनेका छन् ।