काठमाडौँ, चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ ।
बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिएका छन । त्यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको उनले जनाए ।
मन्त्री पोखरेलले भने, विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरिने र ठूलो समस्या आएकाले सामान्य ढङ्गले यसको निकास नआउने र फरक परिस्थितिबाटै यसको निकास निकाल्नुपर्ने उको भनाइ छ ।
परिस्थितिमा परीक्षा निर्भर
मन्त्री पोखरेलले कोरोना भाइरसको सङ्क्रमण हटेर जनजीवन सामान्य हुन थालेपछिको तीन सातामा विद्यार्थीको स्थगित परीक्षा गरिने बताए । तयारीका लागि केही समय दिनुपर्ने मन्त्री पोखरेलको भनाइ छ ।
हाल सरकारले चैत ६ गतेबाट सुरु हुने गरी तय गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ भने वैशाखमा सञ्चालन गर्ने भनिएको कक्षा ११ र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले रोकिसकेको छ ।
यो अवस्थामा परीक्षाको वातावरण बन्न र समाजमा विद्यमान त्रास हट्न केही समय लाग्ने मन्त्री पोखरेलको भनाइ छ । उनले कोरोनाको समस्यासित जुधेका चीनका केही सहरमा पनि शैक्षिक संस्था सञ्चालन हुन नसकेको सन्दर्भ स्पष्ट गर्दै नेपालमा पनि विद्यालय खुल्न र परीक्षा सञ्चालन हुन केही समय लाग्ने बताए ।
मन्त्री पोखरेलले कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा पुग्ने अवस्थामा विद्यालयलाई क्वारेन्टाइनका रूपमा सञ्चालन गर्न थालिएको बताउँदै यसले गर्दा विद्यालयको नियमित कक्षा सञ्चालन र परीक्षाको वातावरण बन्न समय लिने अवस्था देखिएको उल्लेख गरे ।