काठमाडौं, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
दश दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेसनमा रहेका बेलायती प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए। प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरे।
कोरोना भाइरसको सङ्क्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए।
स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि सोमबार नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। नियमित जाँचका क्रममा स्वास्थस्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचारकक्षमा सारिएको थियो।
उनले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गरेका छन्। अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ।