काठमाडौँ, साउन । मुलुकमा अहिले देखिएको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । मन्त्रालयमा सोमबार आयोजित नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटघाटमा उनले भने, मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउँछ ।
‘यहाँहरूले राखेका समस्यालाई मौद्रिक नीतिमा सम्बोधन गर्न छलफल चलिरहेको छ । केही दिनभित्र टुंगोमा पुग्छ,' उनले भने, 'सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ ।'
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए । 'विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ,जानुपर्छ, जाने नै हो । '
अलिकति ढिलो भएको छ,उनले भने, 'हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ ।' होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको पनि उनको भनाइ छ । नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको समेत उनले जनाए ।
होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो, प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो,' उनले भने, 'त्यसको निरन्रता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ ।’
अर्थमन्त्रीसँगको भेटमा हानका अध्यक्ष विनायक साहले ३० - ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भएपनि बर्सेनि १० लाख भन्दा बढी पर्यटक नआएको भन्दै धेरै भन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउनु पर्ने बताए । सडक पूर्वाधारहरू सुरक्षित नहुँदा पनि पर्यटकहरू नेपाल आउन नचाहने गरेको उनको भनाइ थियो ।
‘हामी ३०- ३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ,' उनले भने, 'हामीसँग दुईवटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन । विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरू आउन चाहेका छैनन् ।'
होटल व्यवसायीहरूले बैंकबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन समेत उनले आग्रह गरे । 'आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु, कालोसूचिमा राखिदिन्छ, लिलाम गरिदिन्छ,' उनले भने, 'हामी पलायनको अवस्थामा छौँ । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौँ । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’