काठमाडौँ, फागुन । सांसद रेणु यादवले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणको खतरा बढ्दै गएको भन्दै ध्यानाकर्षण गराएकी छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले कोरोनाको संक्रमणबाट बच्न बारम्बार हात धुनु भनेर सरकारले विज्ञापनमात्र गरिरहेको भन्दै सांसद बस्ने कुर्सीमा लगाइएका खोल फोहोर हुँदा सफाइमा ध्यान नदिएको आरोप लगाइन् ।
आफू बस्ने कुर्सीको खोल देखाउँदै उनले भनिन्, ‘सदनभित्रै यस्तो फोहोर छ, यसलाई छोएपछि बारम्बार हात धुन कहाँ जाने ?’
उनले कोरोना संक्रमण भित्रिन नदिन सरकारले सतर्कता नअपनाएको आरोपसमेत लगाइन् । भीडभाडयुक्त क्षेत्र बन्द गर्नुपर्ने, शैक्षिक संस्था बन्द गर्नुपर्ने जस्ता विषयमा सरकार गम्भीर नदेखिएको उनको भनाइ थियो ।
भारत लगायत सम्पूर्ण देशले आफ्नो सुरक्षाका लागि संयन्त्र तयार पारिरहेको अवस्थामा नेपाल सरकार भने विज्ञापन र भाषणमा मात्र केन्द्रित भएको उनले बताइन् ।