धनकुटा, फागुन । धनकुटाको महालक्ष्मी नगरपालिकाले स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकहरुलाई निःशुल्क दाँत लगाई दिने भएको छ । आगामी चैत १ देखि ३ गतेसम्म दिवसको अवसर पारेर जेष्ठ नागरिक दन्त उपहार कार्यक्रमको आयोजना गरि नगर क्षेत्रका जेष्ठ नागरिकलाई निःशुल्क दाँत लगाईदिने भएको हो ।
तीन दिनसम्म कार्यक्रम सञ्चालन गरी ६० बर्ष माथिका बृद्धबृद्धाहरुलाई निःशुल्क सेट तथा खुद्रा दाँत लगाईने योजना अनुरुप कार्यक्रम सञ्चालन गरि चुनाताका जनतालाई दिएको बचन पुरा गर्न लागएिको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए ।
उक्त कार्यक्रममा जेष्ठ नागरिक बाहेक अरुलाई दाँत निकाल्ने र परामर्श सेवा उपलब्ध गराईनेछ ।
सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा पुर्वाञ्चल डेन्टल हस्पिटलको प्राबिधिक सहयोग लिएर जितपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त उपहार कार्यक्रम गर्न लागिएको हो महालक्ष्मी नगरपालिकाका उपमेयरले जानकारी दिए ।
महालक्ष्मी नगरपालिकाले गत बर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरी एक सय ३२ जना जेष्ठ नागरिकको पुरै सेट दाँत लगाएको थियो । ५५० भन्दा बढीको दाँत लगाएर दुई हजार भन्दा बढीलाई दन्तसेवा उपलब्ध गराएको नगरपालिकाले यसको प्रभावकारीता देखेर यस बर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको नगरपालिकले जनाएको छ ।