नेकपाको सर्कुलर
आचारसंहिता कार्यान्वयन गर्न दियो अर्को विशेष निर्देशन
अध्यक्षद्वय ओली र ‘प्रचण्ड’ को विशेष परिपत्र
काठमाडौं, फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वले नै पार्टीले जारी गरेको आचारसंहिता मातहतका नेता कार्यकर्तालाई पालना गर्न फेरि अर्को सर्कुलर जारी गरेको छ ।
तीन दिनअघि अर्थात फागुन ११ गते नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष परिपत्र–८ जारी गर्दै आचारसंहिता कार्यन्वयनमा जोड दिएका हुन् ।
केही दिनअघि मात्रै अध्यक्ष केपी ओलीले आफ्नो जन्मदिन मनाउने क्रममा पार्टीको आचारसंहिता उल्घन गरेको भन्दै पार्टीभित्रै आलोचना भएको थियो ।
‘सवै तहका पार्टी कमिटी र संगठित तथा साधारण सदस्यहरुले पार्टी केन्द्रबाट जारी गरिएको आचारसंहिता पालना गर्ने, गर्न लगाउने र त्यस सन्दर्भमा आफूलाई उदाहरण बनाउने’, नेकपाको विशेष परिपत्रमा भनिएको छ ।
११ बुँदे परिपत्रमा नेकपाले आगामी २०७६ चैतभित्र पार्टीका संगठित सदस्य र साधारण सदस्यहरुको सदस्यता नवीकरण सम्पन्न गरिसक्न निर्देशन पनि दिएको छ ।
यसअघि नेकपाले २०७७ असारभित्र नवीकरण भएका सबै संगठित सदस्य तथा साधारण सदस्यलाई पार्टी कमिटी र पार्टी सेलमा संगठित गरिसक्न विशेष परिपत्र – ७ मार्फत निर्देशन दिएको थियो । सोही निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि विशेष परिपत्र – ८ जारी गरेको नेकपाले जनाएको छ ।
परिपत्रमा केन्द्रीय कमिटी र प्रदेश कमिटीका सदस्यले आ–आफ्नो कार्यक्षेत्र अन्तर्गतका जिल्ला कमिटीसँग समन्वय गरी निर्धारित समयभित्र संगठित सदस्यता तथा साधारण सदस्यता नवीकरण सम्पन्न गर्न र विधानबमोजिम पार्टी कमिटी वा पार्टी सेलमा संगठित गर्न सक्रिय सहयोग गर्न भनिएको छ ।
साथै तोकिएको समयभित्रै नवीकरण शुल्क र लेबी बुझाई सदस्यता नवीकरण गरेर अनिवार्य रुपमा सधारण सदस्यता पत्र वा संगठित सदस्यता पत्र प्राप्त गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
यसरी नविकरण गरी परिचय–पत्र प्राप्त गरेका संगठीत सदस्यहरुलाई आगामी २०७७ असार मसान्तभित्र पार्टीको टोल, प्रारिम्भक कमिटी वा कुनै न कुनै कमिटीमा संगठित गराउन निर्देशन दिएको छ ।
सदस्यता नवीकरण लगत्तै संगठित सदस्य र साधारण सदस्यहरुलाई प्रशिक्षण गर्नका निम्ति पार्टी स्कूल विभागले प्रत्येक प्रदेश र जिल्लामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्न भनिएको छ ।
प्रशिक्षक प्रशिक्षणका लागि आगामी वैसाख १ गतेदेखि सात प्रदेश र ७७ जिल्ला कमिटीमा खटाउने परिपत्रमा उल्लेख छ । नेकपाले पार्टीका सबै तहका कमिटी तथा सदस्यहरुलाई पार्टी नेतृत्वको सरकारका सम्बन्धमा सकारात्मक प्रचार गर्न तथा भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको छ ।