झापा, फागुन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कसैले पनि गरीब सुकुम्बासीका नाममा सार्वजनिक जग्गा अतिक्रमण गर्न नपर्ने बताउनुभएको छ ।
गृहनगर झापाको दमकमा आईतबार आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुनुभई दमकस्थित बेलडाँगी खेलमैदानमा आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रम ओलीले उक्त कुरा बताउनुभएको हो ।
पछिल्लो समय सुकुम्बासीका नाममा विभिन्न व्यक्तिले सार्वजनिक जग्गा अतिक्रमण गर्ने समस्या आएको भन्दै यसलाई निर्मुल गर्ने उहाँले बताउनुभयो ।
घरविहिनका लागि यस वर्ष भित्र देशैभरी ८९९ घर निर्माण गरेर वितरण गरिएको बताउनुहुँदै उहाँले कुनै पनि नेपालीले खुल्ला आकाशमुनि चिसो भुईंमा सुत्न पर्दैन भन्नुभयो ।
गृहनगर आउनुभएका उहाँले नेपालमा कानुनी शासनलाई जनताले अनुभव हुने गरी भइरहेको बताउँदै नेपालको इतिहासमा सभामुख, पूर्वमन्त्री तथा उच्चपदस्थ अधिकारीहरु कानुन विपरित काम गरेकोमा सजायँ भोगिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, यो सरकारले एक आर्थिक वर्षमा देशभरिमा ३ हजार किलोमिटर सडक कालोपत्रे र दुईसय ३५वटा पक्की पुल निर्माणसम्पन्न भएको बताउनुभयो ।
नेपालमा सयवर्षअघि दक्षिण एसियामा नै सबैभन्दा पहिला विद्युत उत्पादन गरेको स्मरण गर्दै प्रम ओलीले अहिले ८८ प्रतिशत जनता विद्युत उपभोगको पहुँचमा पुगेको बताउनुभयो ।
गृहनगर आउनुभएका प्रधानमन्त्री ओलीले खुशी साट्न पाएको र सबैसँग भेटघाट भएकाले प्रशन्न भएको अभिव्यक्ति दिनुभयो । उहाँले आफ्नो अप्रेशन गर्ने डाक्टर रमेशसिहं भण्डारीलाई ड्यासबाट परिचय गराउनुभएको थियो ।
प्रम ओली एकै दिन पाँचवटा कार्यक्रममा व्यस्त
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गृह जिल्लाको गृहनगरमा विभिन्न पाँचवटा कार्यक्रममा व्यस्त हुनुभयो ।
प्रम ओली मध्यान्ह्र झापाको भद्रपुर बिमास्थलबाट सोझै दमक नगरपालिका स्थित निर्माण सम्पन्न कालो पत्रे कृष्ण मन्दिर बेलडाँगी सडकको रिवन काटेर उद्घाटन गर्नुभयो । यस लगत्तै झापाको
दमक बेलडाँगी हुँदै मोरङको मधुमल्ला जोड्ने मावा खोलामा निर्माण सम्पन्न पक्की पुल उद्घाटन र तीस वर्ष पुरानो दमक रबी चिसापानी सडकको कालोपत्रे गर्ने कामको शिलान्यास गर्नुभयो ।
प्रम ओलीले दमककै बेलडाँगीस्थित खेलमैदानमा आयोजना गरिएको सभालाई सम्बोधन गर्नुभएको थियो । त्यसपछि काठमाण्डौ फर्कने क्रममा दमक १ मा निर्माण गरिएको बिपन्न नमुना आवासको उद्घाटन तथा साँचो हस्तान्तरण गर्नुभएको थियो ।