काठमाडौं, माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवास प्रकरणमा अख्तियारलाई सरकारले कुनै दबाब र निर्देशन नदिएको स्पष्टोक्ति दिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले अख्तियारलाई दबाब र निर्देशन दिएको भन्ने हल्ला चलेको आफूले पनि सुनेको उल्लेख गर्दै त्यस्तो दबाब र निर्देशन नदिएको स्पष्टोक्ति दिए।
पहिला पहिला समाजमा तामातुलसी छुवाउँदा पनि मानिसले सत्य बक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले चर्को स्वरमा भने, ‘अहिले यहाँ त सदाचारीको भन्दा भ्रष्टाचारीको स्वर ठूलो छ।’
उनले भ्रष्टाचारमा पक्षधरता नराख्न पनि सबै पक्षसँग आग्रह गरे। ललिता निवास प्रकरणमा अख्तियारले दुइटा कानुन ल्याएको र एकै मुद्दामा कसैलाई चौख्याएको र कसैलाई पोलेको आरोप लागिरहेको छ। सरकारको दबाब र निर्देशनमा अख्तियारले नेकपा नेताहरु र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भने मुद्दा नचलाएको आरोप लागिरहेको छ। सरकार प्रमुखका रुपमा प्रधानमन्त्री ओली र अख्तियारलाई नै भ्रष्टाचारमा पक्षधरताको आरोप लागिरहेका बेला प्रधानमन्त्रीले सबै पक्षसँग भ्रष्टाचारका विषयमा पक्षधरता नराख्न आग्रह गरेका हुन्।
अख्तियारका प्रखुख आयुक्त नवीन घिमिरेले अख्तियारले पछिल्लो समयमा भ्रष्टाचारमा स्टिङ अपरेसनलगायत ठूलो संख्यामा मुद्दामा सफलता प्राप्त गरेको पनि बताए।
कार्यक्रममा राष्ट्रपति भण्डारीले अख्तियारको वार्षिक स्मारिका सार्वजनिक गर्नुका साथै अख्तियारका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कारसमेत प्रदान गरेकी थिइन्।