काठमाडौँ, माघ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमितता प्रकणरमा नेपाल कम्युनिस्ट पार्टीका नेतालाई उन्मुक्ति दिएको भन्दै नेपाली कांग्रेस प्रवक्ताले आपत्ति जनाएका छन्।
प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार साँझ एक ट्विट गर्दै कटाक्षका साथ आपत्ति प्रकट गरेका हुन्। कांग्रेस नेता विजयकुमार गच्छदारलाई मुद्दा दायर गरिएको तर नेकपा नेता नेपाल र पौडेललाई भने उन्मुक्ति दिएप्रति उनको कटाक्ष छ।
'श्री माधवकुमार नेपालका पाला (नेपाल प्रधानमन्त्री भएको समयमा) मा नितिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपुर्जा,' उनले ट्विटमा लेखका छन्, 'मुद्दा कसलाई? विजय गच्छदारलाई!'
प्रसिद्ध बेलायती उपन्यासकार जर्ज ओरवेलको पुस्तक 'एनिमल फार्म'को उदाहरण दिँदै उनले असन्तुष्टि समेत प्रकट गरेका छन्। पुस्तकको कोट 'सबै जनावर समान हुन्। तर केही जनावर अरूभन्दा बढी समान हुन्छन्' लाई साथमा लिएर उनको असन्तुष्टि बाहिरिएको हो।
अख्तियारले ललिता निवास प्रकरणमा जोडिएका नेता गच्छदारसहित १७५ विरुद्ध विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरको छ। निवासको जग्गाको केही अंशको धनीपुर्जा विष्णु पौडेलका छोराका नाममा समेत भएको सार्वजनिक भएपछि पौडेल विवादित बनेका थिए।