काठमाडौं, माघ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी सम्झौता छिटो अनुमोदन हुनुपर्ने बताएका छन् । काठमाडौँको राष्ट्रिय सभागृहमा आजदेखि शुरु भएको पार्टीको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा उद्घाटन सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले संयुक्त राज्य अमेरिकासँग तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालमा २०७४ साल भदौ २९ गरिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतानुसार अमेरिकी अनुदान तथा प्राविधिक सहायता र नेपाल सरकारको लगानीमा विभिन्न आयोजना बन्ने भएकाले यसलाई संसद्बाट अनुमोदन गर्न ढिला गर्न नहुने स्पष्ट गरे ।
पाँचवर्षे सो सम्झौताको कतिपय बुँदामा प्रश्न उठे पनि यसलाई कार्यान्वयन गर्नाको विकल्प नभएको जनाउँदै उनले भने, ‘यसमा धेरै विवाद गरिरहनु पर्दैन । यसमा नेपाललाई होच्याउने, अपमान गर्ने वा हिन्द प्रशान्त रणनीतिको सम्बन्धको कुरा छैन ।
हरेक देशका अनेक अदृश्य स्वार्थ हुन सक्छन् । त्यसमा हामी नजाऔँ । त्यसरी जाने हो भने कुनै मुलुकसँग सम्बन्धै नराख्ने कुरा पनि उठाउन सकिन्छ तर हामीले आफ्नो मुलुकको स्वार्थ र प्राथमिकता हेर्ने हो ।’