२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नवनियुक्त सभामुख अग्नि सापकोटालाई बधाई

कस्ले के को धक्का दिने भनेको हो प्रधानमन्त्रीले प्रष्ट गरुन्ः शेरबहादुर देउवा

प्रेस स्वतन्त्रता विरोधी विधेयक पारित गर्न नदिने

मंगलवार , माघ १४, २०७६

काठमाडौं, माघ । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले ठूलो धक्का आउँदै छ भनेर प्रधानमन्त्रीले के भन्न खोजेको हो प्रष्ट गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलवार बसेको बैठकमा नवनियुक्त सभामुख अग्नि सापकोटालाई बधाई दिँदै नेता देउवाले कसले के धक्का दिन खाजेको हो ? कस्तो धक्का भन्न खोजेको ? त्यस्तो धक्का दिने कसको हिम्मत ? भन्दै प्रश्न गरेका हुन् ।

बैठकमा देउवाले सरकारले लोकतन्त्र विरोधी विधेयक ल्याएको भन्दै त्यस्ता विधेयक पारित गर्न नदिने चेतावनी दिए । कांग्रेस निर्वाध प्रेस स्वतन्त्रताका पक्षमा रहेको भन्दै प्रेस स्वतन्त्रता विरोधी विधेयक पारित गर्न नदिने चेतावनी उनले दिएका हुन् ।

यसैगरी देउवाले मानवअधिकार, नागरिक स्वतन्त्रता, व्यक्तिगत गोपनीयताको हक विरुद्धका विधेयक पारित गर्न नदिने प्रष्ट गरे । लोकतन्त्र विरोधी व्यवहार नगर्न सरकारलाई उनले सचेत गराए ।

एमसीसी आफ्नै पालामा क्याबिनेटले पारित गरेको स्मरण गर्दै नेता देउवाले नेपालले यति धेरै ठूलो सहयोग कहिल्यै प्राप्त नभएकाले पारित गर्न ढिला नगर्न आग्रह गरे ।

विकासका लागि आर्थिक सहयोग जरुरी पर्ने भन्दै उनले नेपालको बिजुली विदेशमा बेच्ने हो भने एमसीसी पारित गर्नुको विकल्प छैन भने । बुटवल गोरखपुर अन्तर्राष्ट्रिय ट्रान्समिशनका लागि भारतीय पक्षले कामै थालिसकेको भन्दै देउवाले हामीलाई नै फाइदा पुग्ने विषयमा पनि किन रोक्ने ? छिटो पारित गराऔं भने । 

अमेरिकाले सैन्य गठबन्धन होइन भनिसकेको र चीनले आपत्ति छैन भनेको अवस्थामा अब के को ढिला ? देउवाले प्रश्न गरे ।

उखु कृषकहरुले आफ्ना उत्पादनको पैसा नपाएको विषय उठाउँदै उनले तत्काल कृषकलाई  पैसा दिलाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफ्नो पार्टीको समर्थन रहने भन्दै देउवाले सभामुखबाट पनि यस विषयमा सहयोगको अपेक्षा रहेको बताए ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि २४ घन्टे हेल्थ डेस्क राख्न आग्रह गर्दै नेता देउवाले चीनमा भएका नेपालीको सुरक्षाका लागि ध्यान दिन आग्रह गरे ।

नेता देउवाले निकै कठीनपूर्वक सभामुख बनेकामा सापकोटालाई बधाई दिँदै उनले पार्टीभन्दा माथि उठेर काम गर्न शुभकामना दिए । उनले कृष्णप्रसाद भट्टराईदेखि दमननाथ ढुंगानासम्मले कायम गरेको इतिहास सम्झेर काम गर्न सल्लाह दिए । संसद प्रतिपक्षको हुने भएकाले विश्वासमा लिएर काम गर्न उनको सभामुखसँग आग्रह थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार