पोखरा, मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । मत परिणाम अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल प्यानलका संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको छ । संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका पाका नेता शर्माले गण्डकी प्रदेशको पहिलो कांग्रेस सभापतिमा नाम लेखाउन सफल भएका छन् ।
संस्थापनका जोशीले ५२८ मत ल्याउँदा शर्माले ६१२ मत ल्याउँदै विजयी भएका हुन् । १ हजार १६५ प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो । शर्मा र जोशीबीच सुरुदेखि नै निकै झिनो मतान्तर देखिएको थियो । मतगणना अन्तिमतिर शर्माको मतान्तर बढ्दै गएको थियो ।
गण्डकीमा संस्थापन र संस्थापनइतरबीच पदाधिकारीमा प्यानलै बनाएर उम्मेदवारी परेको थियो । पौडेल समूहबाट उपसभापतिबाहेक प्यानलै निर्वाचित भएको छ । १७ वर्षसम्म कास्की कांग्रेसको नेतृत्व गरेका शर्मा पौडेल समूहका भए पनि कास्कीमा आफ्नै गुट चलाउँदै आएका थिए ।
हक्की स्वभावका शर्माले कास्कीमा प्रभाव कायमै राखेको भए पनि स्वभावका कारण उत्तिकै आलोचित पनि भइरहन्थे । प्रदेश सभापतिका उम्मेदवार बन्न समूहबाट ५ जनामा निकै रस्साकस्सीबीच शर्माको नाम टुंगो लागेको थियो । पौडेल समूहबाट कास्कीबाट मात्रै ३ जना आकांक्षी थिए ।
कास्कीबाट शर्मासहित पूर्व मन्त्रीसमेत रहेका यज्ञबहादुर थापा र वौद्धिक र प्रखर नेता भनेर चिनिएका नेता देवराज चालिसेले दाबी गरेका थिए । तनहुँका पूर्व सभापति रघुनाथ पौडेल र नवलपुरका महेन्द्रध्वज जिसीले पनि प्रदेश सभापतिमा दाबी गरिरहेका थिए । सभापतिका सबै आकांक्षी अरुलाई छोड्न टसमस नभएपछि वरिष्ठ नेताहरु नै पोखरा आएका थिए ।
संस्थापन इतरबाट उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य जीवन परियार, धनराज गुरुङ र कमला पन्त १५ गते पोखरा आएका थिए । दुई दिनको छलफलपछि बिहीबार उद्घाटन कार्यक्रम सकिएपछि रातिमात्र शर्माको नाममा सहमति जुटेको थियो ।