२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन, यतिलाई दिने निर्णय खारेज हुनुपर्ने माग

बुधवार , माघ ८, २०७६

सरकारले गोकर्ण रिसोर्ट कौडिको मूल्यमा यति होल्डिङ्सलाई दिएको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

नेविसंघ नेता नवराज त्रिपाठीको नेतृत्वमा बुधबार गोकर्ण रिसोर्ट अगाडि भएको प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, संविधानसभा सदस्य दीपकप्रसाद कुइकेललागयतले सम्बोधन गरेका थिए। 

नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्ट र त्यस क्षेत्रको जग्गा सम्झौता अवधि सकिन ६ वर्ष बाँकी रहँदै वर्तमान सरकारले यति होल्डिङ्सलाई थप २५ वर्षका लागि दिएको छ। संसदबाट नेपाल ट्रष्ट ऐन संशोधन गरी सरकारले बिनाप्रतिस्पर्धा गोकर्ण रिसोर्ट र त्यस आसपासको करिब २८ सय रोपनी जग्गाा यति होल्डिङ्सलाई प्रतिरोपनी वार्षिक ५ सय ६४ रुपैयाँमा थप २५ वर्षका लागि सुम्पेको हो। 

नेविसंघका निवर्तमान महामन्त्री एवं नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले कम्युनिष्टहरु कमाउनिष्टमा परिणत भएको चर्चा गर्दै त्यसको नेतृत्व बालुवाटारबाट प्रधानमन्त्री केपी ओलीले गरिरहेको बताए। गोकर्ण रिसोर्टको जग्गा कौडिको मूल्यमा यति होल्डिङ्सलाई सुम्पेर ओलीले यसको प्रमाण पेश गरेको काफ्लेले जिकीर गरे।

प्रदर्शनका क्रममा आयोजित कोणसभामा नेता पौडेलले वर्तमान सरकारले हिजोको सामन्तीवादी सोचलाई निरन्तरता दिँदै जमिनमा कब्जा गरी राज्य कब्जा गर्न खोजको आरोप लगाए। उनले करोडौं रुपैयाँ भाडा लिन सकिने गोकर्णको जमिन टेण्डर आह्वान नगरी वार्षिक केही लाख रुपैयाँ लिएर वर्षौवर्षका लागि यति होल्डिङ्सलाई दिएर सरकारले भ्रष्टाचारको नमूना प्रदर्शन गरेको बताए।

सभामा संविधानसभा सदस्य एवं स्थानीय कांग्रेस नेता दीपकप्रसाद कुइकेलले सरकारले नयाँ संविधान बनेपछि त्यससँग बाझिएको कानुनहरु संशोधन गर्ने नाममा कसैले थाहा नपाउने गरी नेपाल ट्रष्ट ऐन संशोधन गरेर यति होल्डिङसलाई गोकर्ण रिसोर्ट नियतवश कौडिको भाउमा सुम्पेको बताए।

नेविसंघ नेता त्रिपाठीले प्रधानमन्त्री ओलीले गरिब जनताको पेटमा लात हानेर यति होल्डिङ्सजस्ता साहुकारहरुको भुँडी भरिरहेको आरोप लगाए। उनले अस्पतालको शैय्याबाट देश चलाउने ओलीले आफूजस्तै बिरामी, दुःखीहरुको पक्षमा निर्णय गर्लान् भन्ने आफूले आशा गरेको भएपनि त्यो केवल आशामै सीमित भएको बताए। 

नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य जानुका पन्तको सभापतित्वमा सम्पन्न कोण सभामा नेपाली कांग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघ नेता गोपि शिवाकोटीले सरकारी जग्गा कौडिको भाउमा आफ्ना कार्यकर्ता र आफू निकट व्यवसायहीरुहलाई सुम्पने सरकारी निर्णय खारेज हुनुपर्ने माग राखे। 

गोकर्ण रिसोर्ट बिनाप्रतिस्पर्धा यति होल्डिङ्सलाई दिने सरकारी निर्णय खारेज नहुन्जेलसम्म नेविसंघले चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार