काठमाडौँ, माघ । मधेश आन्दोलनका शहीदहरुको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउन लागिएको छ ।
बलिदानी दिवसको अवसरमा प्रदेश दुईको प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ भने औपचारिक कार्यक्रमको समेत आयोजना गरेको छ ।
मधेश आन्दोलनको केन्द्रविन्दु बनेको विरगंजमा आयोजना गर्ने समारोहमा प्रदेश सरकारका मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता रहने जनाइएको छ ।
शहीद परिवारलाई सम्मान समेत गरिने उक्त कार्यक्रममा सहभागी हुन मधेश आन्दोलन प्रदेश २ का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ ।
प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो ।
तर प्रदेश सरकारको गठन पश्चात गत वर्षदेखि प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन ।