काठमाडौँ, पुस । सत्तारुढ नेकपामा सभामुख चयन प्रक्रियालाई लिएर दुई अध्यक्षबीच तीव्र ध्रुवीकरण भएको छ । अध्यक्ष पुष्पकमल दाहालले अनावश्यक गुटबन्दी गरेको भन्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओली रुष्ट बन्नुभएको छ ।
प्रधानमन्त्री निकट उच्च श्रोतले भन्यो, घरी खुमलटार, घरी भैँसेपाटीमा गुटको भेला गर्ने, प्रधानमन्त्रीलाई थाहै नहुने, घर भित्रको समस्या बाहिर फुक्दै हिडेर समस्या कसरी समाधान हुन्छ ? कार्यकारी अधिकार सुम्पिएको डेढ महिनामै अध्यक्ष दाहालले पार्टीभित्र चरम गुट भित्र्याएको प्रधानमन्त्री ओलीको ठहर छ । दाहाल पक्षले भने समस्या समाधानको पहल स्वरुप छलफल हुनु सामान्य भएको बताएको छ ।
वरिष्ठ नेता झलनाथ खनालले भन्नभुयो, बामदेव जीले चिया खान बोलाउनुभएको हो । गुटको भेला भनेर बुझ्नु भएन । सचिवालयको आज बस्ने बैठकले सभामुख टुङ्ग्याउने खनालले दावी गर्नुभयो ।
सचिवालय बैठकले सभामुख छान्ने जिम्मा अध्यक्षद्वयलाई दिएपनि आ–आफ्नै अडानमा कायम रहेपछि पुनः सचिवालयमै छलफल हुन लागेको हो । सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपरान्ह ४ वजे बस्दैछ ।
प्रधानमन्त्री केपी ओली संसदीय दलका उपनेता सुभास नेम्वाङलाई सभामुख बनाउने पक्षमा हुनुहुन्छ भने दाहालले देव गुरुङ वा अग्नि सापकोटा मध्ये १ लाई अघि सार्नुभएको छ । दुई अध्यक्षको आ– आफ्नै अडानको प्रभाव पार्टी संञ्चालनमा समेत परेको छ ।
यो बीचमा उपसभामुख शिवमाया तुम्वाहाम्फेले समेत आफ्नो दावी कायमै राख्नुभएको छ । प्रतिनीधिसभामा उपसभामुखले राजिनामा नदिएसम्म सभामुख चयन प्रक्रिया शुरु नहुने भएपछि सत्तारुढ दललाई थप सकस भएको छ । प्रतिनीधिसभा हिउँदै अधिवेशन भोलि सुरु हुँदैछ ।