२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा विघटन बहस

एमीकस क्युरी सदस्य मैनालीको राय : ' प्रतिनिधिसभा विघटन अधिकार बहुमतको प्रधानमन्त्रीलाई छ'

बुधवार , फाल्गुण ५, २०७७

काठमाडौं, फागुन  ।  प्रतिनिधिसभा विघटन गर्ने अधिकार बहुमतको प्रधानमन्त्रीलाई रहेको एमीकस क्युरी वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले तर्क गरेका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा एमीकस क्युरीको तर्फबाट राय राख्दै बुधबार मैनालीले भने, 'संविधानको धारा ७६ को उपधारा ७ को प्रतिनिधिसभा विघटनको अधिकार बहुमतको प्रधानमन्त्रीलाई पनि छ ।'

कुनै पनि पार्टीले सरकार गठन गर्न मानेन भने त्यस्तो अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार रहेको पनि उनको तर्क थियो । 'सरकार बनाउन कुनै पार्टी तयार भएनन् भने त्यस्तो अवस्थामा सरकारमा रहेको प्रधानमन्त्रीले विघटन गर्ने अधिकार छ ।

म प्रधानमन्त्री हुँदैन भन्ने गणेशमान सिंहजस्ता मान्छे पनि छन् नि नेपालमा,' उनले भने । संविधान लेखनका क्रममा त्रुटि रहेको मैनालीको भनाइ थियो । कुनै पनि दलले सरकार गठन गर्दैन भनेमा के गर्ने भन्ने व्यवस्था नलेखिएको बताए ।

त्यस्तै, प्रधानमन्त्रीले पार्टीभित्रको आन्तरिक विवादमा पनि संसद् विघटन गर्ने अधिकार राख्ने मैनालीको तर्क थियो । 'जब पार्टीभित्र जन्जाल, समस्या उत्पन्न हुन्छ । सरकारको काममा बाधा नआओस् भन्नका लागि संसद् विघटन गर्ने हो,' उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको लिखित जवाफमा पनि पार्टीले असहयोग गरेको भन्ने कुरा उल्लेख गरेको भन्दै मैनालीले नेकपाभित्रको विवादले अहिलेको अवस्था आएको बताए ।

विगतमा गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र मनमोहन अधिकारीले पनि पार्टीभित्रको विवादका कारण संसद् विघटन गरेको उनले उदाहरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार