काठमाडौँ, माघ । राजनीति मर्यादा, मूल्य र मान्यतामा चल्नुपर्ने हो । र, राजनीतिलाइ सामान्यतया यही रुपमा बुझिन्छ पनि । तर नेपालको राजनीति भने फरक देखियो । यहाँको राजनीतिक संस्कृति र वातावरण नियाल्दा अवसर, गुण्डागर्दी, सेवाभन्दा आर्थिक उपार्जनको आधार, समाजमा रवाफ, धम्की देखाई अहंमता प्रदर्शन गरेर सर्वसाधारण माथि शोषण गर्ने प्रबृतिका रुपमा स्थापित हुनपुगेको परिस्थितिले देखाएको छ ।
यहाँ राजनीतिज्ञबीच पनि यस्तै खेल हुने गरेका यथेष्ट तथ्य छन । राजनीतिक दलबीच पनि हुने खिचातानी, फुट्ने, जुट्ने, देश र जनताका लागि भनेर सहमति, सहकार्य भनेर आपसी पदमा लुछाचुँडी गरेर एक अर्कालाई धोका दिने, फसाउने, मर्यादाको राजनीतिक संस्कृति तोडेर अन्याय, अपराध, धम्की, उदण्डता र पीडाजन्य कार्य गरेर सामाजिक रुपले बिकृत बनाउने नेपाली संस्कृतिले अन्ततः नेपालको राजनीति सधै ‘जुँगाको लडाई’ मा केन्द्रित रहयो । यसबाट कुनै पनि दल चोखो रहन सकेनन् ।
राजनीतिका नाममा गरिने सहमति र सहकार्य राष्ट्रिय राजनीतिमा जुंगे लडाई बन्दै गयो । स्थायी समिति बैठकमा जब बिबाद बढ्दै गयो तब प्रचण्डले ओलीलाई भने ः ‘दुबै पद छोडनुस्’, ओलीले भने ः ‘पद नपाएर रन्थनी भो !’ जस्ता सवाल जवाफले आखिर देखाउने यही नै हौइन त ?
यसरी र यस्तै बिबाद र द्विविधाबाट मौलाउदै गएको यस्तो प्रबृतिले पार्टी फुट्नेदेखि सरकार ढाल्नेसम्मका खेलले आ –आफ्ना स्वार्थका लागि गाला जोडेर गरिएको सहमतिले देशलाई अस्थिरतातर्फ धकेल्दै लगे । सत्ता, शक्ति, भोग विलास प्राप्तिको कथित सोचले आलोपालोको आधरमा सत्ता, शक्ति, भोगविलास गर्ने नियम झैँ बस्न गयो ।
यसको उपज सरकार पटक पटक परिवर्तन हुँदै गए, छोटो समयमा देशका कार्यकारी पदमा रजाई गर्नेको अनुहार फेरिन थालिए । शासन व्यवस्था सञ्चालनमा बसेकाबाट जनताको हित तथा कल्याणउन्मुख भन्दा सत्ता निकट रहेर फाइदा मात्र उठाउन थालियो । जसले गलत भयो भनेर देखाइदिदा कथित ‘बिरोधी’ तथा ‘शत्रुपक्ष’ को संज्ञा दिएर सरकारमा बसेकाबाट नै फसाउने, दुःख दिने जस्ता ‘हर्कत’ भए ।
विधिको सरल र सहज शासन, शासनमा सक्रिय जनसहभागिता, लोकतान्त्रिक शासन व्यवस्था, जबाफदेही र पारदर्र्शीपूर्ण सरकार, सहकारिता, स्वतन्त्र एवं सक्षम न्याय प्रणाली, मानव मूल्य र मान्यताको रक्षा, बिकास प्रक्रियामा दिगोपना, जीवन्त नागरिक समाज, शक्ति सन्तुलन र नियन्त्रण, व्यवसायिक एवं जनमुखी कर्मचारी तन्त्र जस्ता शब्दावलीहरु कागजमा मात्र सिमित रहे । यसको प्रत्यक्ष असर नेपालका गरिब जनताले भोगीरहे ।
नेताहरुका व्यक्तिगत स्वार्थका कारण नेपालको राजनीति सधै गुट उपगुटतर्फ केन्द्रित हुनथाल्यो । यसैको उपज नेपाल कम्निस्ट पार्टीमा देखिएको अहिलेको रस्साकस्सी हो ।
पार्टीको झण्डा नै नराखी प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षधरले पार्टी विधि, विधान र प्रणालीमा नचलेर दुई अध्यक्षको चोचोमोचोका आधारमा चलिरहेको आरोप, २०७५ साल जेठ २ गतेको आलापालोको सहमति छाडेर गल्ती गरेँ भनेर दिएको प्रचण्डको अभिव्यक्ति, सरकार र पार्टीलाई फाइदा होला भनेर आफूले पाँच वर्ष ओलीलाई सरकार चलाउन दिने सहमति गरेको हो भन्ने जस्ता प्रचण्डको पश्चाताप भाव, ओलीमाथि उनको कडा आलोचना, सरकारले गर्नसक्ने काम पनि नगरेको विश्लेषण, गुटहरु छन तर पार्टी छैन भन्दै प्रचण्डले अब नेता सामु ‘फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प रहेको बैठकमा ब्यक्त गर्नु तथा प्रधानमन्त्री ओलीले पार्टीभित्र अनुशासनहीनता र बहुमतको खेल सुरु भएको, असन्तुष्टिका गुटबन्दी र बहुमतको खेलकै कारण अघिल्लो बैठकको पूर्वसन्ध्यामा झण्डै पार्टी विभाजनको संघारमा पुगेको, महाधिवेशनसम्म सहकार्य गर्ने सहमति अनुसार पार्टी नचलेको, पार्टीमा अहिले पनि गुटबन्दी र बहुमतको खेल भएको, नेतृत्वलाई खुइल््याएपछि आफ्नो कद बढ्छ भन्ने भ्रम नपाल्न जस्ता आग्रह, पूर्वाग्रहले भरिएको प्रस्तुती, सत्ताको अहंकार र उन्मादले तर्क , तथ्यभन्दा ‘फाइट टू फिनिस’ जस्ताको खेलले ओली र प्रचण्डले गाला जोडेर गरेको एकीकरणको खम्बा धरापमा परेको संकेत गर्छ ।
नेताहरुले गाला जोडेर गरेको एकताको खम्बामा धमिरा लाग्ने कार्य पार्टीभित्र बेला बेलामा देखिएको मतमतान्तरको स्वरहरुमा प्रष्ट देखिएको हो । नेकपाभित्र गरिएको एकिकरणको उद्घोष देश, जनता र पार्टीभन्दा पनि नेता हितका लागि हुन भन्ने उनकै पार्टी पंक्तिबाट बेला बेलामा गरेको चर्चा परिचर्चाले कुनै बेला यी चोचोमोचो गरेका नेताहरुको स्वार्थ केन्द्रित पार्टी एकीकरणको खम्बा कुनै पनि बेला ढल्नसक्ने संकेत देखिएको छ । यसबाट के स्पष्ट हुन्छ भने नेकपा संघर्षको चरणमा प्रवेश गरेको छ ।
बुधबार बालुवाटारमा आयोजित बैठकमा सचिवालयका सातजना नेतालाई अग्लो मञ्चमा दुरीसहितको आसन तय गरिएको, अध्यक्ष द्वयका लागि ठूला सोफा अरु नेताभन्दा केही अगाडि राखिएको, झलनाथ खनाल र माधव नेपालका कुर्सी अलि पछाडि राखिएको, सचिवालयभन्दा तलका नेताहरु मञ्चभन्दा मुनि होचो स्थानमा भएको भन्ने जस्ता सामान्य कुराहरु पनि सहज तरिकाले लिन नसक्नु र बरिष्ठ नेता माधवकुमार नेपालले कार्यालय सचिव ईश्वरी रिजाललाई मञ्चमा बोलाएर मेरो आसन किन पछाडि राखेको भनेर अगाडि सार्न लगाउनु, नेता नेपालले अध्यक्ष ओली बोल्दै गर्दा वीचमा दुई पटक क्रम गरेर ओलीलाई चिढ्याउनु, ओलीले आफ्नो मन्तव्यमा पार्टी एकताको चर्चा गर्दै गर्दा नेता नेपालले सामुहिक प्रयासले पार्टी एकता भएको हो भन्दै ओलीको प्रतिवाद गर्नु, त्यसैगरी सरकारको प्रशंसा गरिरहेका बेला नेता नेपालले आत्म प्रशंसा नगर्न ओलीलाई भन्नु केपी ओलीले माधव नेपालसँग रिसाउँदै तपाईको बोल्ने पालो आउँछ, त्यही बेला बोल्नुहोला, आफूले के गर्नुभयो ?
त्यो पनि भन्नुहोला भन्दै जवाफ दिनु, मञ्चमै भएको ओली नेपाल वीचको भनाभन हुनु, अध्यक्षका लागि विशेष सोफा र अरु बरिष्ठ नेताहरु लागि बेग्लै कुर्सीहरु राखेको हामीलाई पनि मन परेन भन्नु नेताहरुको जुँगाको लडाईबाट सृजित पार्टीभित्रको बिमति हो ।
नेपालमा राजनैतिक परिवर्तन त भए तर नेताहरुको आचरणमा कुनै परिवर्तन भएन । यसको फलस्वरूप कुनै दिन नेपालमा नौ महिनामा नै प्रधानमन्त्रीहरु परिवर्तन हुने, मन्त्रिमण्डल बिघटन हुने कुशासनको अनुभव नेपालीले भोग्नुपर्यो ।र यसकारण पनि नेपाली जनताले नेकपालाई बहुमतको स्थिर सरकारको मौका दिए । बिडम्बना पार्टीभित्र त भन्दा म ठुलो भन्ने दम्भले जनताको मतलाई बेला बेलामा आइसोलेसनमा राख्ने काम पार्टी पंक्तिबाट भैरह्यो ।
अहिलेको नेपालका राजनीतिज्ञहरुको अदुरदर्शिता, अपरिपक्क निर्णय, सरकार संचालनमा कुशल नेतृत्वको अभावका कारण नेता र सरकार प्रति आमजनताको गुनासाहरु र उनीहरुप्रति जनताको मोह घट्दै गैरहेको छ ।
केहि सिमित नेताले बिगतमा देश र जनताका लागि गरेका योगदानको बर्षौसम्म ब्याज खाइरहनुपर्ने मानसिकताले गर्दा नेपालमा जुनसुकै पार्टीको सरकार आए पनि पुरानै अनुहारधारी नै सत्तामा आउनाले नेपालीलाई जुनसुकै पार्टी र जो प्रधानमन्त्री आए पनि खासै उत्साह छैन । जबसम्म पार्टीभित्रका राम्रा, कुशल, योग्य, ईमान्दार र निस्पक्ष व्यक्ति अगाडी आउदैनन तबसम्म नेपालको पार्टीभित्र शुसासन छिर्न सक्दैन र योग्य व्यक्ति सँधै पाखा लागि रहन्छन्न ।
पार्टीभित्र सधै अहमताको राजनीतिले जरो गाडी रहन्छ र देश अस्थिरतातर्फ धकेलिरहन्छ । यसका लागि पार्टीका कार्यकर्ता पनि ईमान्दार हुन जरुरी छ । आफ्नो पार्टी र आफ्नो पक्षका नेताले जे गरे पनि ठिक भन्ने र अरुको पार्टी र अरुको पक्षका नेताहरुले जे गरे पनि बेठिक भन्ने चरित्रलाई त्याग्न जरुरि छ । यसखाले प्रवृतिले उनीहरु स्वयंलाई घाटा छ भन्ने कुरा बुझ्न जरुरी छ ।
यसैको उपज अहिले नेकपाभित्र देखिएको कचिंगल हो । ओली र प्रचण्डले गाला जोडेर गरेको नेकपा एकीकरणको खम्बा मात्र होइन नेपालका कुनै पनि पार्टी जुनसुकै बेला ढल्ने निश्चित छ । यसका लागि सबै पार्टीका नेता तथा कार्यकर्ता सच्चिनु आवश्यक छ । होइन भने कुनै दिन नेपालमा सबै चुनाव जनताले बहिस्कार गर्ने दिन नआउला भन्न सकिन्न ।
१८ असार, ०७७,