काठमाडौं, माघ । राष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाको आधारभूत नेपाल नीतिमा परिर्वतन नहुने अमेरिकी राजदूत र्याण्डी बेरीले बताएका छन् । काठमाडौंमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै बेरीले विश्वव्यापी प्राथमिकता फेरिन सक्ने बताए । ‘तर, समग्र नीतिमा परिर्वतन हुँदैन’ उनले भनेका छन् ।
राजदुत बेरीले पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेतासँगको भेटमा वाइडन प्रशासनका प्राथमिकताबारे आफूले जानकारी गराएको बताए ।
पछिल्लो समय उनले प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरेका थिए । बाइडनले सपथ ग्रहण लगत्तै अमेरिका र विश्वले भोगेका समस्या समाधान गर्न नयाँ योजना सार्वजनिक गरेको जानकारी उनले दिए ।
बाइडनले आज र भोलिका चुनौती सामना गर्न भिजन अगाडि सारेको उनको भनाइ थियो । उनले भने,‘सपथ ग्रहणसँगै बाइडनले कोभिड–१९ को चुनौती सामना गर्न तत्काल कदम चाल्नुभएको छ ।
कोरोना रोकथामका लागि घरेलु मात्र होइन्, अमेरिकाको विश्वव्यापी जिम्मेवारीलाई पूरा गर्न योजना अगाडि सानु भएको छ ।’ उनले कोभिडको आर्थिक र मानवीय असर कम गर्ने जिम्मेवारी कुनै एउटा मुलुकको मात्र नभएर यो विश्वव्यापी समस्या भएको र यसको विश्वव्यापी समाधान भएको बताए ।
त्यसैगरी, जलवायु परिवर्तन, मानव अधिकार, कोभिड–१९ नियन्त्रण, प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षण र प्रबर्द्धन नयाँ प्रशासनको प्राथमिकता भएको जानकारी राजदूत बेरीले दिए ।
उनले भने,‘बाइडेन प्रशासनले के विश्वास गर्छ भने अन्तर्राष्ट्रिय सहकार्यमार्फत विश्वका समस्या प्रभावकारी रुपमा समाधान गर्न सकिन्छ ।
उनले विश्वका साझा समस्या समाधान गर्न कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा नेपालका नेतासँग छलफल गरेको पनि जानकारी दिए ।
उनले नेपाल जलवायु परिवर्तनको फ्रन्टलाइनमा रहेको बताउँदै बाइडनले पेरिस सम्झौतामा जोडिने निर्णय तत्काल लिएको जानकारी दिए ।